एमाले अध्यक्ष केपी ओलीले आफूविरुद्ध माधव नेपाल समूहले गरेको हस्ताक्षर अभियानको कुनै अर्थ नभएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रकरणलाई लिएर नेपाल समूहले हस्ताक्षर अभियान चलाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
ओलीले भने पार्टीभित्र कुनै पनि समस्या नभएकाले उत्तेजना र आवेगमा नआउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६४औँ जन्मजयन्तीको अवसरमा सोमबार मदन भण्डारी फाउन्डेसनले गरेको एक विचार गोष्ठीमा ओलीले गुटगत भेला र हस्ताक्षरको कुनै अर्थ नरहेको बताए ।
‘म अध्यक्ष हुँ, पार्टीभित्र केही भएको भए मलाई थाहा हुनुपर्ने हो,’ ओलीले भने, ‘तर, केही मान्छे भेला गर्दै हिँडेका छन्, हस्ताक्षर गरेर ताउर–माउर गरिरहेका छन्, यो सब किन गरिरहेका छन् म बुझ्दिनँ ।’
राखेप सदस्यसचिवमा पार्टीनिकट खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशवकुमार विष्टलाई नियुक्त गरेपछि अध्यक्ष ओली असन्तुष्ट छन् ।
उनको नियुक्तिपछि ओलीले खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पार्टीमा छलफल नै नगरी फिर्ता बोलाउन लागेको भन्दै नेपाल समूहले आइतबारबाट ओलीविरुद्ध हस्ताक्षर अभियान सुरु गरेको थियो । सो समूहले विधिविधानभन्दा पनि अध्यक्षले स्वेच्छाचारितामा पार्टी चलाउन खोजेको आरोप लगाउँदै आएको छ ।