आउँदो दसैंअघि पोखरा नगर क्षेत्रमा युरो–३ मापदण्डका बस सञ्चालन हुने भएको छ । पोखरा बस व्यवसायी समितिले युरो–२ का गाडी विस्थापन गरी नयाँ ल्याउन लागेको आजको नागरिक दैनिकमा खबर छ ।
‘पहिलो चरणमा १६ वटा नयाँ गाडी ल्याउँदैछौं,’ समितिका वरिष्ठ उपाध्यक्ष चिजकुमार गुरुङले भने, ‘गाडी बुकिङ गरिरहेका छौं । दसैंअघि नै गुड्न सुरु हुनेछ ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी यादव कोइराला अध्यक्षताको यातायात व्यवस्थापन समितिले पोखरा र लेखनाथ नगर क्षेत्रबाट १५ वर्ष पुरानालाई हटाएर युरो–३ मापदण्डका गाडी ल्याउन गएको वैशाखमा व्यवसायीलाई निर्देशन दिएको थियो । सरकारी नियमानुसार २० वर्ष पुराना सवारी साधन विस्थापन गर्नुपर्ने भए पनि पोखराको वातावरण स्वच्छ राखी पर्यटनमैत्री बनाउन समितिले १५ वर्ष भइसकेका गाडी हटाउन निर्देशन गरेको हो ।
यातायात व्यवस्था कार्यालय गण्डकीका तत्कालीन प्रमुख सुनील खनाल संयोजकत्वमा गठित अध्ययन टोलीले बुझाएको सुझावात्मक प्रतिवेदनका आधारमा समितिले १५ वर्ष पुराना गाडी हटाउन निर्देशन दिएको थियो । समितिले ३० भन्दा बढी सिट भएका गाडी ल्याउन दिएको निर्देशनअनुसार व्यवसायीले ठूलो आकारका सवारी ल्याउन लागेको जानकारी गुरुङले दिए । युरोपेली मापदण्डअनुसार बनेका गाडीले धुवाँ नफाल्ने र प्रदूषणरहित हुने उनले बताए । ‘नयाँ गाडी भिœयाउँदा खर्चिलो हुने भए पनि सरकारी निर्देशन पालना गर्दै वातावरणमैत्री पोखरा बनाउने अभियानलाई सघाउन अघि बढेका छौं,’ उनले भने, ‘पुराना गाडीमा लुब्रिकेन्टको फिल्टर फेर्दा ४ हजार लाग्थ्यो भने नयाँमा त्यसैलाई १५ हजार रुपैयाँसम्म पर्छ ।’
पोखरा ट्याक्सी व्यवसाय समितिले पनि पुराना गाडी विस्थापन गर्न लागेको जानकारी समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारीले दिए । २० वटा ट्याक्सी र ४ वटा माइक्रो बसको सट्टामा युरो–३ मापदण्डका गाडी ल्याउन लागेको उनले बताए । उनका अनुसार १०-११ वर्ष पुराना ट्याक्सी र माइक्रो बस विस्थापन गरेर नयाँ ल्याउन लागिएको हो ।
महँगो लगानी गर्नुपर्ने भएकाले कतिपय सवारी विस्थापन गर्न कठिन भएको गुरुङले बताए । उनका अनुसार ९-१० लाखमा पाइने पुराना गाडीको ठाउँमा च्यासिसलाई मात्रै १९ लाख रुपैयाँ पर्ने गाडी ल्याउनुपरेको गुनासो व्यवसायीले गरेका छन् ।