विशेष अदालतले जिल्लाका विभिन्न सडक विस्तार गर्ने नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बाराका तत्कालीन निमित्त स्थानीय विकास अधिकारी ९एलडीओ० मुरारी नेपाललाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले एलडीओ नेपालसहित चारजनालाई जनही दुई वर्ष कैद र २४ लाख ३५ हजार ९ सय ३६ रुपैयाँ बिगो भराउने फैसला सुनाएको राजधानीमा खबर छ ।
भ्रष्टाचार अभियोगमा १९ वैशाख २०६९ मा विशेष अदालतमा मुद्दा दायर भएकामा अदालतले उनीहरू सबैलाई २२ वैशाखमा थुनामा राखेर मुद्दा सुनवाइ अघि बढाउन आदेश दिएको थियो । अदालतले भ्रष्टाचार अभियोगमा जिविस बाराका इन्जिनियर मेघुप्रसाद जयसवाल र लेखा अधिकृत गोपीलाल दासलाई पनि दुई वर्ष कैद र २४ लाख ३५ हजार ९ सय ३६ रुपैयाँ बिगो भराउने फैसला सुनाएको हो ।
अर्का अभियुक्त जिविसका डिभिजन इन्जिनियर शितलप्रसाद गुप्तालाई भने ६ महिना कैद हुने अदालतको फैसलामा उल्लेख छ । अदालतले कानुनी प्रक्रिया नाघेर लाखौं रुपैयाँको कागजी योजना बनाई काम गरेको भन्दै उनीहरूलाई कैद र जरिवाना हुने तथा जरिवानाअनुसार नै बिगो हुने फैसला गरेको हो ।
निमित्त स्थानीय विकास अधिकारी रहँदा नेपालले बाराका १५ ओटा सडक आयोजनाका लागि नक्कली काम गरेको कागजात बनाएर २ करोड २७ लाख ६७ हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै स्थानीय विकास अधिकारी विष्णु लामिछाने स्वयंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी नेपालसहित भ्रष्टाचारमा संलग्न ४१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।