ट्रान्सफर्मर खरिद घोटाला प्रकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको समेत प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई तत्काल हिरासतमा लिने तयारी भइरहेको जनाएको छ । अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा यादव ‘प्रत्यक्ष दोषी देखिएका’ले हिरासतमा लिएर कारबाही अघि बढाइने जनाएको आजको राजधानी दैनिकमा खबर छ ।
गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणका तल्ला स्तरका कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले तिनै कर्मचारीको बयान र उपलब्ध गराएको कागजातका आधारमा कार्यकारी निर्देशक यादव मुख्य दोषी पाइएको ठहर गरेको हो । ‘हिरासतमा लिइएका कर्मचारी र ठेकेदारको बयान र उनीहरूले उपलब्ध गराएको काजगातका आधारमा यादवको रकम भुक्तानीलगायतका कार्यमा प्रत्यक्ष संलग्नता देखिएको पाइएकाले उनलाई तत्काल नियन्त्रणमा लिने तयारी भएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार २०६७/६८ मा हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेड चीनमार्फत खरिद गरिएका ट्रान्सफर्मरहरूको भुक्तानी दिने कार्यमा तत्कालीन ग्राहक तथा वितरण शाखाका प्रबन्धक रहेका यादवको प्रत्यक्ष संलग्नता भेटिएको छ । राजधानीलाई प्राप्त गोप्य दस्तावेजअनुसार हुवेईलाई प्राधिकरणमार्फत तिर्नुपर्ने १ लाख ६० हजार २ सय डलर अर्थात् ११ करोड ५१ लाख ४४ हजार रुपैयाँमध्ये यादवकै स्वीकृतिमा १० करोड ८७ लाख २२ हजार भुक्तानी गरिएको उल्लेख छ । सो रकम यादवले दुई चरणमा गरी हुवेईलाई भुक्तानी गर्न स्वीकृति दिएका थिए । उनले चरणबद्ध रूपमा भुक्तानी सिफारिस गरे पनि उन्मुक्ति पाउँदै आएका थिए । यादवपछि आएका तत्कालीन महाप्रबन्धक चिरञ्जीवी शर्माले ६४ लाख २० हजार रुपैयाँ भुक्तानी दिएका थिए ।
दुवैले रकम भुक्तानीको मेमोमा समेत स्वीकृति दिएको उल्लेख छ । हुवेईमार्फत ल्याइएको ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका अधिकांशलाई अख्तियारले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।अख्तियारले ट्रान्सफर्मर घोटालामा मुछिएका प्राधिकरणका सुरेन्द्रप्रसाद पनेरू, मदनराज चापागाईं, कैलाशकुमार अटल, शेखर दत्त, सिन्धु यादव, हरिशबहादुर पाल, प्रज्वल पाण्डे, भरत रूपाखेती, सुरेन्द्रराज जोशी, सुरेशकुमार कटुवाल, नारायण चौधरी र सरोज श्रेष्ठलाई हिरासतमा राखेर कारबाही गरिरहेको छ ।
त्यसैगरी, ठेकेदार कम्पनी हुवेईका यु झेङ कुइङ र जोउ उ तियान पनि हिरासतमा छन् ।
यो छुट्यो कि,