वैशाख १२ को महाभूकम्पपछि रसुवाको लाङटाङमा ठूलो हिमपहिरो गएको थियो, जसले लाङटाङलाई मानवरहित बनाइदियो । कान्तिपुर दैनिकमा समाचार छ ।
यही लाङटाङ क्षेत्रमा पदयात्रामा निस्किएको तीन इन्डोनेसियनसहित १० जनाको माउन्टेन एक्सपिरियन्सको टोलीको त्यसयता अत्तोपत्तो छैन । उद्धार गरिएका जिउँदाको टोलीमा उनीहरू भेटिएका छैनन् । न त निकालिएका लास नै उनीहरूका हुन् । सास भएको आस नरहेपछि भूकम्प गएको ३४ औं दिन बिहीबार टोली प्रमुख (गाइड) पूर्णबहादुर तामाङको घेवा (काजकिरिया) तामाङ सेवा केन्द्रको कपनस्थित गुम्बामा थालिएको छ ।
‘छोराले बुबा जिउँदै आउँछ भन्छन्,’ काँकु–४, सोलुखुम्बुका पूर्णकी पत्नी लक्ष्मीले भनिन्, ‘लास भए पनि भेटिन्छ कि भनेर धेरैसँग हार–गुहार गरें । गाविस सचिवदेखि सभासद गगन थापासम्म पुगें, तर केही लागेन । अब सास नै छैन जस्तो लाग्छ ।’
पतिसँग वैशाख १० मा भएको अन्तिम कुराकानी सम्झँदै उनले भनिन्, ‘बिहान कुरा हुँदा सबै ठीक छ भन्दै बच्चालाई स्कुल भर्ना गरे, गरेनन् भनी सोधेका थिए । माथि पुगेपछि फोन लाग्दैन भने । त्यही दिउँसो मिसकल आएको रहेछ । बेलुका कल–ब्याक गरें, तर फोन लागेन ।’ कपन–८ स्थित पैयाँटारमा बस्दै आएकी उनलाई त्यसयता पूर्णको न फोन आयो न त उनले पतिको शरीर नै देख्न पाएकी छन् ।