डेढ महिना ढिलो गरी आउँदो आइतबारदेखि शिक्षकहरु विद्यार्थीसहित कक्षा कोठामा प्रवेश गर्दैछन् । यो नयाँ शैक्षिक सत्रमात्र नभई महाभूकम्पपछिको पहिलो कक्षा हुनेछ । सबैको मनमा भूकम्पको त्रास बाँकी नै छ । कसरी कहाँदेखि पढाउन सुरु गर्ने ? अरुको पीडा अनुभूति सुन्ने कि आफ्नो सुनाउने ? रमाइलो पक्ष सायदै हुन सक्ला । कान्तिपुर दैनिकमा समाचार छ ।
‘मेरो नाति अझै तर्सिदैछ,’ शिक्षिका ललिता प्रसाई भन्छिन्, ‘यो अवस्थामा कसरी स्कुल पठाउने र फकाउने मेसो खोज्दैछु ।’ भूकम्पको पराकम्पन गइरहँदा छिमेकका बालबालिका बटुलेर एकसाथ खाजा र खाना खुवाउने, खेल्न लगाउने, सबै परिवार एकै पालमुनि रात गुजार्ने गर्दासमेत डराउन नछाडेको प्रसाई सुनाउँछिन् । ‘यो अवस्थामा केटाकेटीलाई कसरी स्कुल पठाऊँ भइरहेको छ ?,’ उनको जिज्ञासा छ ।
आम अभिभावकको चासोलाई लिएर यही सवालको समाधानमा शिक्षकहरु यतिखेर जुटिरहेका छन् । भूकम्पबाट ध्वस्त विद्यालय र कक्षा कोठाहरु बाहिर खुल्ला ठाउँमा पाल टाँगेर, अस्थायी कक्षा कोठा बनाउने क्रम जारी छ ।
प्रकाशित मिति: 2015-05-29 05:57:53