उति हुनेखाने परिवार होइन । तैपनि जिन्दगी नियमित लयमै चलिरहेको थियो । साँझबिहान खाना खाने बेला ११ जनाको परिवार एकसाथ हाँसीखुसी देख्दा दुःख भुल्थिन् सुकमाया गुरुङ । नागरिक दैनिकमा समाचार छ ।
तर, उनको भान्छा अचेल शून्य–शून्य छ । एउटा पिर्का खाली नै रहन्छ, जुन उनलाई बिझाइरहने खिल बनेको छ । त्यो पिर्का जसमा उनकी कान्छी छोरी गीता बस्थिन् । प्यारी छोरी जसलाई वैशाख १२ को महाभूकम्पले निल्यो । स्वाँरा–९ की ५७ वर्षे सुकमायालाई मुटुको टुक्रै लुछेर लगेझैं भा’छ ।
शनिबार परेकाले स्कुल बिदा थियो । गीता दुई दिदीसँग टस्र्याङ खर्कमा गोठाला गएकी थिइन् । खर्क गाउँबाट तीन घन्टाको दुरीमा पर्छ । बूढाबूढी घरतिरकै सुसेधन्दामा व्यस्त थिए । सूर्य सधैंझैं उदाएकै थियो । हावा उसै गरी बहिरहेथ्यो ।
रुखका पात उसै गरी चलमलाइरहेकै थिए । सबैतिर एउटा जिउँदो दैनिकी । अचानक प्रकृतिले यति कठोर निर्णय लेला भन्ने छेकछन्दसम्म थिएन । तर, गीताका लागि त्यही गोठालो अन्तिम बन्यो । उनी भूकम्पसँगै खसेको पहिरोमा पुरिइन् । दुई दिदी जसोतसो जोगिए । पहिरोसँगै खसेको ढुंगोले माहिली करमाया पनि घाइते छिन् । बहिनीलाई आँखैअगाडि गुमाउनुपर्दाको पीडाले उनलाई शरीरको चोटले भन्दा बढी दुखाइरहेछ ।
ख्याउटे शरीर, गढेका आँखा ।
त्रिपालमुनि निन्याउरो मुहार लगाएर गहुँ केलाउँदै थिइन् सुकमाया शुक्रबार साँझ । भूकम्पले छोरी मात्रै लगेन, बास पनि उठायो । जायजेथा भत्किएको घरसँगै पुरिए । अहिले बाँकी छोराछोरीलाई कसरी बिहानबेलुका पेट भराउने चिन्ता पनि थपिएको छ ।
सुकमायालाई त खानसमेत मन लाग्दैन । भोक, निद्रा, तिर्खा सबै कान्छी छोरीको वियोगमा डुबेका छन् । ‘कसैको आँखा नलागोस् भन्थेँ, भुइँचालोले खोसेर लग्यो,’ उनी सुँकसुँकाउन थालिन्, ‘धपक्क बलेकी थिई, राता गाला, अरू छोरीभन्दा राम्री थिई ।’
उनीहरूले छोरीको शवसमेत पाएका छैनन् ।