काठमाडौं महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारी गत चैतमा ३ लाख ५० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परे । जग्गाधनी सुशीलकुमार शाहको घरको नक्सा पासका लागि उनले उक्त घूस लिएका थिए, त्यो पनि भक्तपुरको बालकोटबाट । कान्तिपुर दैनिकमा समाचार छ ।
दुई वर्षअघिसम्म नगरोन्मुख गाविस रहेको सैबुमै नक्सा पासका क्रममा यस्तै अनियमितता भेट्टियो । प्रस्तावित एक स्वास्थ्य संस्थाको नक्सा पासका क्रममा तत्कालीन सचिव कुमार थापाले ७७ लाख रुपैयाँको चेक लिने क्रममा अनियमितता गरेको भेटियो । गत वर्ष नै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको एक औषधि उद्योगको जग्गाको कर निर्धारणका क्रममा ८० लाख रुपैयाँ अनियमितता भएको थियो ।
‘नक्सा शाखाका अधिकांश प्राविधिक कर्मचारीहरू कम्तीमा ३ देखि ५ हजार रुपैयाँ बिना नक्सा पासको फाइल नै छुँदैनन्,’ महानगरपालिकामा कार्यकारी अधिकृत भइसकेका एक सहसचिव भन्छन्, ‘महानगरपालिकाको मात्रै होइन, अन्य ठूला सहरका नक्सा शाखा पनि भन्सारसरह छन् ।’ उनका अनुसार उपत्यकाका अन्य ठूला ललितपुर, कीर्तिपुर, भक्तपुर लगायतका नगरपालिकामा पनि यस्तै प्रवृत्ति छ ।
प्रकाशित मिति: 2015-05-24 05:44:32