डा. केसीको समर्थनमा अस्पतालमा जम्मा भएका सयौं चिकित्सक, विद्यार्थी, पेसाकर्मी र सर्वसाधारणले नौ दिनसम्म पनि राज्यले माग नसुनेको भन्दै राज्यका अंगहरूको मृत्यु भइसकेको घोषणा गरे। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
केसीको जीवनरक्षा माग गर्दै अस्पतालमा बिहानैदेखि जम्मा भएका उनीहरूले राज्य मृत भएको घोषणा गर्दै एक मिनेट मौन धारणसमेत गरेका थिए। उनीहरूले झरीको परवाह नगरी विभिन्न नारासहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर ज्ञापनपत्र बुझाएका थिए।
महाराजगन्ज क्याम्पसका विद्यार्थी अध्ययन बहिष्कार गर्दै आठ दिनदेखि आन्दोलनमा होमिएका छन्। तीन दिन ओपीडी सेवा बहिष्कार गरेका अस्पतालका आवासीय चिकित्सकले सोमबार अस्पतालबाहिरै ओपीडी सेवा दिए।
केसीका मागप्रति समर्थन गर्दै नेपाल चिकित्सक संघसहित पेसाकर्मीले आन्दोलन घोषणा गरिसकेका छन्। डा. केसीको माग र उनको अनशनलाई समर्थन गर्दै चिकित्सक आन्दोलनमा होमिएपछि शिक्षण अस्पतालको सेवा प्रभावित हुन थालेको छ।
उपचार कक्षमा चिकित्सक पातलिएपछि बिरामी चिन्तित हुनुका साथै कतिपय अन्य अस्पतालमा समेत जान थालेका छन्। मन्त्रिपरिषद्ले केसीका मागबारे जानकारी लिई वार्ता गर्न शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र मुख्य सचिवलाई जिम्मेवारी दिए पनि केसीले शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारीको राजीनामापछि मात्रै वार्ता गर्ने अडान राखेका छन्।
केसीले सरकार पेलेर जाने मनस्थितिमा रहेको भन्दै कागजी सम्झौताको भर नपर्ने बताउँदै आएका छन्। चिकित्सा शिक्षानीति र चिकित्सा विश्वविद्यालय निर्माण हुनुअघि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अनियमित तरिकाले मेडिकल कलेजको सम्बन्ध दिने पदाधिकारीलाई कारबाही गर्नुपर्नेलगायत १० बुँदे माग राखेर केसीले अनशनमा बसेका हुन्।