मेडिकल शिक्षालाई व्यवस्थित गर्न नौ दिनदेखि अनशन बसिरहेका चिकित्सकप्रति संवेदनहीन रूपमा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार बिहान डा. गोविन्द केसीलाई प्रतिपक्षी, विभिन्न समूह र जनताले उचालेको टिप्पणी गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालासँग टेलिफोन सम्पर्क गरी डा. केसीको माग पूरा गरी उनको अनशन तोडाउन आग्रह गरेका थिए।
सोमबार बिहान शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै उनका सबै मागप्रति समर्थन व्यक्त गरेका दाहालले तत्कालै टेलिफोन गरी प्रधानमन्त्रीलाई भने, 'तत्काल केसीको अनशन अन्त्यका लागि सरकारले विशेष पहल गर्नुपर्यो, अनशन तोडाउनुपर्यो।'
स्रोतका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले केसीको माग पूरा गर्न प्रक्रिया थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, 'तपाईंहरू उचाल्नु हुन्छ, जनताले पनि उचाल्छन् र केसी स्वयं उचालिनुहुन्छ। त्यसैले समस्या आइरहन्छ।'
प्रधानमन्त्रीसँग आक्रोशित हुँदै दाहालले केसीको स्वास्थ्य अत्यन्त कमजोर भएकाले तत्काल उपयुक्त वातावरण बनाउँदै अनशन तोडाउन पहल गर्न सुझाव दिए। प्रधानमन्त्रीले आफू यसबारे ग भीर भएको जबाफ दिएको स्रोतले बतायो।
दाहालसँग केसीले शिक्षण संस्थाका नाममा भएका अनियमितता रोक्न राजनीतिक स्तरबाट सहयोगको अपेक्षा राखेका थिए। केसीले आमनेपालीबीच संक्रमणका रूपमा रहेको भ्रष्टाचार र अनियमितता रोक्दै जनतामा सुशासनको प्रत्याभूति गराउन दाहाललाई आग्रह गरेका थिए।
केसीसँग भेटेपछि दाहालले भने, 'उहाँका माग जायज छन्, यसलाई सरकारले तत्काल पूरा गर्नुपर्छ। म अहिल्यै प्रधानमन्त्रीसँग कुरा राख्ने छु।' त्यसपछि उनले प्रधानमन्त्रीलाई टेलिफोन गरेका थिए।