अस्पतालका भित्ता पोस्टर, मागपत्र र समर्थनमा जारी प्रेस विज्ञप्तिले ढाकिएका छन्। बाहिर बगैंचाभरि समाजका प्रतिष्ठित अनुहार ओहोरदोहोर गरिरहेका छन्। नजिकै टाँगिएको पालभित्र सेता कोटधारी कविता, मुक्तक सुनाउँदैछन्। कोही नाटकमार्फत सरकारमाथि आक्रोश पोख्दैछन्। नागरिक दैनिकमा समाचार छ ।
यो दृश्य हो, राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पताल परिसरको, जुन ठाउँ सात दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार आन्दोलनमय बन्यो।
चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै आमरण अनशन बसेका वरिष्ठ चिकित्सक डा. केसीको सत्याग्रहमा समर्थन जनाउन के डाक्टर, के विद्यार्थी, के समाजसेवी, के राजनीतिक दलका कार्यकर्ता, टिचिङमा निरन्तर भेला भइरहे।
नीतिबिनै मेडिकल कलेज सम्बन्धन खुलाउने निर्णयमा संलग्न प्रधानमन्त्री, त्रिवि पदाधिकारीलगायत उच्च अधिकारीमाथिको छेडछाडपूर्ण अभिव्यक्तिमा अस्पताल परिसरभित्र दिनभर तालीको गडगडाहट सुनियो।
आफ्ना गुरु डा. केसीले चिकित्सा क्षेत्रमा व्याप्त विकृतिविरुद्ध आमरण अनशन थालेको सातौं दिनसम्म सरकार टसमस नभएपछि उनीहरूको आक्रोशको पारो चढ्दो थियो जसलाई उनीहरू साहित्यिक अभिव्यक्तिबाट पनि प्रस्तुत गरिरहेका थिए।
बाहिरको वातावरण जति आन्दोलनमय बन्यो, अनशनकक्षको वातावरण भने त्यति सहज रहेन। अक्सिजन मास्कले डा. केसीको बढ्दो झुस्स दाह्री छोप्न सकेको छैन। केही नखाएको सातौं दिनसम्म निष्ठा, इमानदारी र साहसले धानिरहेको शरीरको पीडा सकेसम्म अनुहारमा लुकाउने प्रयत्नले बेलाबेला काम गर्दैन।
छाती र मांसपेसीको दुखाइसँगै निधारको छालामा परेको मुजा अझ बाक्लिन्छ। समर्थनमा आउनेलाई हार्दिकता दर्शाउँदा पनि सकस भइरहेको छ उनलाई। केही बेर बोलेपछि मनिटरले मुटुको धड्कन र नाडीको गति उक्लिएको देखाउँछ, सहकर्मीहरू दौडादौड गर्दै उनलाई बोल्न रोक्छन्।
गुम्म परेको डक्टर्स रुमभित्र एउटा कुनामा रहेको सानो खाटमा सुतिरहेका डा. केसीलाई संक्रमण नहोस् भनेर पर्दाले बारिएको छ। तर पनि बाहिरबाट पुग्नेहरू चियाउँदै आफ्नो परिचय दिन छुटाउँदैनन्। अधिकांशले डा. केसीबाट कुनै समय पाएको सेवा र त्यसले जीवनमा ल्याएको परिवर्तन सुनाएर फर्कन्छन्।
दुर्गम गाउँहरूबाट ‘मलाई तपार्इंले नै बचाएको' भन्दै भेट्न आउनेको अनुहारमा देखिने मायाले डा. केसीको मुस्कान उदाउँछ, जसलाई अक्सिजन मास्क र निधारको चाउरीपनले छेक्न सक्दैन।
प्रधानमन्त्री सुशील कोइरालाले डा. केसीको स्वास्थ्य अवस्था र मागप्रति उपेक्षा देखिने गरी दिएको अभिव्यक्तिले सहकर्मी चिकित्सक र विद्यार्थीमा आक्रोश थप बढाएको छ। एमबिबिएस चौथो वर्ष अध्ययनरत विद्यार्थी सुमन आचार्य चिकित्सा विद्यार्थी आन्दोलनमा होमिइसकेको र केसीको जीवनरक्षाका लागि आवश्यकताअनुसार आन्दोलनको स्वरुप बदल्ने बताउँछन्। विद्यार्थीले अनशनको दोस्रो दिन नै अभियानलाई आन्दोलनका रूपमा परिणत गरिसके पनि वरिष्ठ चिकित्सकको सक्रियता अपेक्षाकृत नभएको उनको भनाइ छ।
‘
सर्वसाधारण, नागरिक समाज र इमानदारीमा विश्वास गर्ने दल र नेताहरूसमेत अभियानमा जोडिन आइपुगेका छन्,' आचार्यले थपे।
चार दिनअघि अन्डरग्रा्यजुएट विद्यार्थीले कक्षा बहिष्कार गरेर डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै सुरु गरेको अभियानमा अहिले विभिन्न मानवअधिकारवादी संघसंस्था, राजनीतिक दल, कतिपय दलका भ्रातृ संगठन, स्वास्थ्यकर्मी युनियनहरूसमेत जोडिएका छन्।
आन्दोलनमा ऐक्यबद्धता र समर्थन जनाउने क्रमसँगै शिक्षण अस्पतालको वातावरण आन्दोलनमय भएको डा. केसी बचाउ अभियानका चिकित्सक जीवन क्षत्री बताउँछन्। उनले यसपटक डा. केसीको चाहनाअनुसार सकेसम्म स्वास्थ्य सेवा बन्द कार्यक्रम घोषणा गर्न नचाहे पनि सरकारी मौनताले विद्यार्थी, रेजिडेन्ट र वरिष्ठ चिकित्सकलाई अझै आन्दोलित बनाउन सक्ने बताए।