पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
मुम्बईमा अखिल भारत नेपाली एकता मञ्च एकताको सातौं राष्ट्रिय सम्मेलनको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै भट्टराईले भने—‘हामी अब युद्ध र लडाईंको पक्षमा छैनौं तर जनताको हक–अधिकार हाम्रै सामुमा अपहरण भएको टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’
‘शान्तिको झण्डा हामीले उठाउँदै गर्दा हाम्रो लचकतालाई कमजोरी ठानिन्छ भने क्रान्तिको झण्डा हामी उठाउन बाध्य हुनेछौं । त्यो क्रान्तिले नै जनताका हक र अधिकार सुनिश्चित गर्नेछ’ उनले भने । १० वर्षे जनयुद्धलाई नेपाली इतिहासको ‘ठूलो उपलब्धी’ भन्दै यसप्रति आफूलाई गर्व भएको उनले बताए ।
‘राजतन्त्र अन्त्य भयो तर केही पात्रले आफूलाई नव छोटे राजाको रुपमा उभ्याउन खोजेकोले सहमति जुट्न सकेको छैन । छोटे राजाहरु शान्ति सम्झौता तोड्न उद्दत छन्’ उनले भने ‘छिटोभन्दा छिटो सार्थक वार्ताको माध्यमबाट संविधानसभाबाटै जनता बलियो हुने गरी अधिकारसहितको संविधान बनोस भन्ने हामी चाहन्छौं ।