राजधानीका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीलाई खुवाइँदै आएको खाद्य पदार्थमा हानिकारक कोलिर्फमको जीवाणु भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिम्मेवार अधिकारीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
'वीर अस्पताल, प्रसूति गृह र महाराजगन्जस्थित शिक्षण अस्पतालमा बिरामीलाई वितरण गर्न तयार पारिएको खानेकुराको नमुना लिएर प्रयोगशाला परीक्षण गर्दा कोलीफर्म भेटिएको हो,' वाणिज्य विभागका अनुगमन शाखा प्रमुख हरिनारायण बेल्बासेले भने । उनका अनुसार वाणिज्य विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मिलेर अनुगमन गरेको थियो ।' कोलीफर्मले झाडापखालालगायत रोगहरू उत्पन्न गराउँछ ।
उनका अनुसार अस्पतालले बिरामीलाई निःशुल्क वितरण गरिरहेको दाल, भात, तरकारी र अचारको नमुना जाँच गर्दा कोलिर्फम भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याब परीक्षणले कोलिर्फम भएको पुष्टि गरेपछि प्रसूति गृहका खाना विभाग प्रमुख कुवेर मालाकार र प्रशासन प्रमुख अमर अमात्य, वीर अस्पतालका क्यान्टिन सञ्चालक सुमन गौतमविरुद्ध मुद्दा चलाएको विभागका सहायक प्रवक्ता सुमन धितालले जनाए । शिक्षण अस्पतालको खाद्य पदार्थको भने अनुसन्धान जारी रहेको उनले बताए ।
ल्याब परीक्षणमा सबैभन्दा बढी वीर अस्पतालको खानामा कोलिर्फम भेटिएको थियो ।
प्रकाशित मिति: 2015-03-02 06:15:08