स्वाइन फ्लुले महामारीको रूप लिने जोखिम बढिरहेका बेला सरकारले चौबीसै घन्टा परीक्षण सेवा दिनुपर्नेमा शंका लागेर परीक्षण गराउन आएका बिरामीसमेत जाँच्दैनजाँची फर्कन बाध्य भएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार दुई बजे नै परीक्षण सेवा बन्द भएपछि १५ जना बिरामी जाँच्दैनजाँची फर्कन बाध्य भए।
मोडल अस्पतालमा अध्ययनरत काठमाडौंकी सफला थापाले भनिन्, 'बिरामीको सम्पर्कमा हामीलाई जानैपर्छ। रुघा लागिरेहेको छ। ज्वरो पनि आयो। त्यही भएर परीक्षण गराउन आएको, तर ल्याब बन्द भइसक्यो रे। अब कहाँ जाने होला?'
खोटाङ घर भई काठमाडौं बस्दै आएका भानुभक्त पनि टेकुको प्रयोगशालाबाट निरास भएर फर्किए। 'रुघाखोकी लागिरहेको छ, ज्वरो पनि आएको छ।
त्यही भएर आत्तिँदै परीक्षण गराउन आएको थिएँ', उनले भने, 'ढिलो भएकाले परीक्षण हुन्न भन्नुहुन्छ स्वास्थ्यकर्मीहरू। यस्तो बेलामा त हामीले जुनसुकै समयमा सेवा पाउनुपर्ने हो।'
स्वाइनफ्लु (एन्फुएन्जा एचवानएनवान ९ पेन्डामिक) को संक्रमण पुष्टि हुने क्रम तीव्र रूपमा बढेपछि घाँटीको र्याल परीक्षण गराउन आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। दैनिक ५० जनाभन्दा बढी शंकास्पद बिरामी संक्रमण परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन्।
शुक्रबार नै ३९ जनामा परीक्षण गरिएको छ। तीमध्ये २१ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यका अनुसार शुक्रबार २१ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै पछिल्लो दुई सातामा ३५ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ। तीनजनामा 'एन्फ्लुएन्जा बी' पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका आठ वर्षीय बालकसमेत छन्। संक्रमण पुष्टि भएपछि बालकको परिवार चिन्तित भएको छ।
'सामान्य रुघाखोकी मात्र लागेको थियो। त्यही भएर हामीले पनि त्यति वास्ता गरेनौं', त्रसित हुँदै संक्रमित बालकका बाबुले भने, 'छोरालाई बचाउन र ऊबाट जोगिन हामीलाई ठूलो चुनौती थपियो।'
संकलित नमुना बोकेर परीक्षणका लागि प्रयोगशालामा आउने स्वास्थ्यकर्मीको संख्या ह्वात्तै बढेको छ। शुक्रबार मात्रै मोडल अस्पतालबाट २५ जनाको नमुना सकंलन गरी प्रयोशालामा परीक्षणका लागि ल्याइएको छ।
'बिरामी बढ्न थाले। चुपचाप बस्दा आफैं जोखिममा परिन्छ, 'संकलित नमुना लिएर गएकी एक स्वास्थ्यकर्मीले भनिन्, 'बिरामीलाई जत्तिकै हामीलाई पनि आफैं संक्रमित होइने हो कि भन्ने पिर छ।'
परीक्षण गराउन आउने बिरामी बढे पनि त्यसअनुसारको जनशक्ति नहुँदा सेवाग्राहीले समयमै रिपोर्टसमेत पाउन सकेका छैनन्।
संक्रमितमध्ये अधिकांश काठमाडौंका छन् भने दुईजना पोखरा, तीनजना चितवन, धनुषा, नवलपरासी र गोरखाका एकएक जना छन्।
सरकारले संक्रमित भएकालाई अस्पतालमा छुट्टै (आइसोलेसन) वार्डमा उपचारको व्यवस्था नगर्दा एक बिरामीबाट परिवार नै संक्रमित हुने जोखिम बढेको छ।
प्रयोगशालाका कर्मचारीले संक्रमण पुष्टि गर्दै घरमा छुट्टै बस्ने, झोलिलो पदार्थ खाने, मास्क लगाउनेलगायत परामर्श दिँदै बिरामीलाई घर पठाउने गरेका छन्।
काठमाडौंका एक संक्रमितका बाबुले भने, 'मेरो बुबालाई संक्रमण पुष्टि भएको थियो। घरै लगे हुन्छ भन्नुभयो डाक्टरले। घरमा लग्दा जानीनजानी मेरो छोरालाई पनि संक्रमण फैलियो।'
उपत्यकाबाहिर हुँदैन परीक्षण
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपत्यकाबाहिर पनि स्वाइन फ्लुको परीक्षणका लागि नमुना संकलनको व्यवस्था गरेको भने पनि त्यसो नभएको पाइएको छ।
परीक्षणको सेवाको अभावमा संकास्पद बिरामी काठमाडौं आउन बाध्य भएका छन्। 'त्यति ठूलो सहरमा परीक्षणको सेवा दिन सकेको छैन सरकारले', वीरगन्जबाट झन्डै चार हजार रुपयाँ तिरेर हवाईजहाजमा काठमाडौं आइपुगेकी मालनी कुशवाहाले भनिन्, 'स्वास्थ्य जाँच त गर्नुपर्यो। त्यही भएर आत्तिएर आएकी हुँ।'
आफैं पनि स्वास्थ्यकर्मी रहेकी उनले सरकारले भारतीय सीमा जोडिएका जिल्लामा संकलनको व्यवस्था नगर्दा स्वाइन फ्लुको जोखिम बढेको बताइन्।
जोखिममा बालबालिका
विद्यालय जाने बालबालिका र नवजात शिशुलाई रुघाखोकी, ज्वोरो, झाडापखाला वा घाँटी दुख्ने समस्या देखिएको छ भने उनीहरूलाई तुरुन्त स्वास्थ्य जाँच गराउन चिकित्सकले सुझाव दिएका छन्।
काठमाडौंका एक बालकलाई पनि स्वाइनफ्लु देखिएकाले विशेष सजग रहन अभिभावकलाई उनीहरूले सुझाव दिएका हुन्। सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले भने, 'मास्क नलगाई बालबालिकालाई विद्यालय नपठाऔं।
मास्क लगाएर पनि ढुक्क हुने स्थिति छैन। त्यसैले लक्षण देखिनासाथ अस्पतालमा जाँच गर्न लगिहाल्नुपर्छ। हेलचेक्र्याइँ भयो भने सबै परिवार संक्रमित हुनसक्छ।'
प्रकाशित मिति: 2015-02-28 06:49:04