सामाजिक समारोहहरूमा तडकभडक र अशोभनीय उच्छृंखलताले व्यापकता पाइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले छोरीको बिहे कानुनले तोकेको परिधिभित्र रहेर सामान्य रूपमा सम्पन्न गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
कार्कीकी छोरी डा. आध्याश्री कार्कीको सुभाशीष थपलियासँग बिहीबार भएको बिहेमा नजिकका नातेदार र निकट मित्रमात्र निम्त्याइएका थिए भने मन्त्रिपरिषद्लगायत राजनीतिक ओहोदामा आसीन एकजनालाई पनि बोलाइएको थिएन।
संवैधानिक अंगका प्रमुख कार्कीकी छोरीको बिहेमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत कोही पनि निम्त्याइएनन्।
आमन्त्रितले वरबधुका लागि ल्याएको उपहार पनि बधुपक्षले अस्वीकार गरेको थियो। आध्यात्मिक गुरु आनन्द अरुणले ल्याएको उपहारसमेत कार्कीले फर्काइदिए। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले ल्याएको उपहार बधु पक्षले अस्वीकार गर्यो। बिहेमा पस्किएको खाना पनि सामान्य थियो।
पारिवारिक स्रोतका अनुसार सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत रहेर कार्कीले छोरीको बिहे गरेका हुन्। एेनमा ५१ जना जन्ती तोकिएकोमा कार्कीका सम्धि उद्यमी रोहिणी थपलियाले छोराको बिहेमा ५० जना जन्ती ल्याएका थिए।
स्रोतका अनुसार धेरै नातागोता र आफन्त भएका कार्कीले छोरीको बिहेमा निम्ता गर्न ७५ वटा कार्ड बाँडेका थिए। बिहेमा दाइजोमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।
सामाजिक सञ्जालमा अख्तियारका प्रमुख आयुक्त कार्कीले सरकारी आवासमै छोरीको बिहे गराएको भन्दै आलोचना भए पनि पारिवारिक स्रोतले सरकारी आवासबाट बिहे गर्न आचारसंहिताले समेत उल्लंघन नगरेको दाबी गर्यो।
प्रकाशित मिति: 2015-02-27 07:20:42