काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आएको सिसडोल ल्यान्डफिल साइट भरिएको छ। नुवाकोटको ओखरपौवास्थित उक्त ल्याल्डफिल साइट भरिएको र अर्को निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट तयार भइनसकेकाले दैनिक एक हजार टन फोहोर व्यवस्थापन गर्न समस्या भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
महानगरपालिका वातावरण प्रशासन महाशाखाका प्रमुख हरिप्रसाद कुँवरले सिसडोल भरिएकाले फोहोर फाल्न समस्या भएको बताए। उनले भने, 'सिसडोल ल्यान्डफिल साइट भरिएर डम्पिङ साइट बनेको छ। यस्तो बेथितिले फोहोर त कुनै देशले पनि फ्याँकेको छैन। अहिलेसम्म त जबरजस्ती थुपार्दै आयौं तर अब त्यो अवस्था छैन।'
उनले फोहोरको थुप्रो आसपासका घरको उचाइसम्म पुगिसकेको बताए। महानगरपालिका, ललितपुर उपमहानगरपालिका र आसपासका नगरपालिका गरी काठमाडौं उपत्यकामा दैनिक एक हजार टन फोहोर उत्पादन हुन्छ। उत्पादित फोहोरलाई सिसडोल पु:याउन महानगरपालिकाले इन्धनमा दैनिक ५० हजार रुपैयाँ खर्च गर्दै आएको छ।
महानगरपालिकाकै वातावरण व्यवस्थापन महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले फोहोर फाल्न तत्काल कुनै विक ल्प नभएको बताए। उनले भने, 'अब साइट आसपासको पहाड भत्काएर क्षेत्र बढाउनुको विकल्प छैन।'
२०५२ सालमा पहिलोपटक बन्चरेडाँडालाई ल्यान्डफिल साइट बनाउने गरी काम थालिएको थियो। तर त्यहाँ पनि तत्काल फोहोर फाल्न नमिलेपछि महानगरपालिकाले सिसडोलमा फाल्न थालेको थियो।
सिसडोलको भ्याली वानमा १४ महिना र भ्याली टुमा १८ महिना फोहोर फालेपछि अब कहाँ फाल्ने भन्ने समस्या परेको थियो। त्यसपछि आलेटार ल्यान्डफिल साइटमा पनि झन्डै अढाइ वर्ष फोहोर फालिएको थियो।
त्यसपछि क्षेत्र बढाएर सिसडोलमै फालिँदै आएको थियो। श्रेष्ठले भने, 'बन्चरेडाँडामा फोहोर फाल्न अझै कम्तीमा तीन वर्ष लाग्ने देखिएको छ। सिसडोललाई नै फराकिलो पार्न थालिनेछ।'
काठमाडौं उपत्यकामा नगरपालिकाको संख्या पाँचबाट २१ पुगेको छ। अधिकांशले फोहोर सिसडोल लैजानका लागि कुरा गरिरहेकाले ल्यान्डफिल साइट चुनौती बनिरहेको छ।
फोहोरको समस्या थपिएपछि गत साता मुख्यसचिव लीलामणि पौड्यालले सबै नगरपालिकाका कार्यकारी अधिकृतलाई बोलाएर स्रोतमै फोहोर छुट्ट्याउन र नकुहिने फोहोरमात्र व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
लगानी बोर्डका परामर्शदाता रवि रायमाझीले उपत्यकाका पाँच पुराना नगरपालिकाको फोहोर व्यवस्थापन दिगो ढंगले गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको जानकारी दिए।
उनले भने, 'महानगरपालिकालाई प्याकेज वान, ललितपुर उपमहानगरपालिका र कीर्तिपुर नगरपालिकालाई प्याकेज टु र भक्तपुर र मध्यपुर नगरपालिकालाई प्याकेज थ्री गरेर काम भइरहेको छ।'
यसैबीच भक्तपुरका ६ वटा नगरपालिकाले संयुक्त रूपमा ल्यान्डफिल साइटको खोजी गर्ने निर्णय गरेका छन्।
मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले भने, 'स्थानीय विकास अधिकारीको नेतृत्वमा भएको बैठकमा सबै नगरपालिकाले फोहोरअनुसार लागतखर्च बेहोर्ने र सकेसम्म साइटमा लैजाने फोहोर स्रोतमै छुट्ट्याएर कम गर्ने निर्णय भएको छ।'
प्रकाशित मिति: 2015-01-30 07:38:13