नेपालका लागि भारतीय राजदूत रन्जित रेले संविधानसभाको घोषित प्रक्रिया केही दिन पर सार्न भारत सरकारका तर्फबाट गरेको आग्रहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
राजदूत रेले शनिबार अपराह्न ओली निवास बालकोट पुगी संविधान निर्माण प्रक्रिया एक साता पछि सार्न आग्रह गरेका थिए। राजदूतको चासोप्रति ओलीले असहमति जनाउँदै संविधान निर्माणको काम धेरै रोकिएको बताएका थिए। 'हाम्रो आन्तरिक राजनीतिक समस्या सुल्झाउन यहाँका दलहरू आफैं सक्षम रहेको' जबाफ उनले दिएका दिए।
भेटमा राजदूत रेले भारत सरकारको चासो र सुझाव भन्दै विपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनको विरोध हुने अवस्थामा सहमति नगरी संविधानसभालाई प्रक्रियामा लैजानु यसअघिका सम्झौताहरूको भावनाविपरीत हुने हुँदा सहमतिको ढोका बन्द नगर्न पनि प्रक्रियाको कार्यक्रम केही दिन रोक्न उचित हुने बताएका थिए।
एमाओवादी-मधेसी गठबन्धनका सभासद्को नाराबाजी चल्दाचल्दै संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्बाङद्वारा प्रस्तुत 'प्रश्नावली प्रस्ताव निर्माण समिति' गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएपछि भावी रणनीति बनाउन आइतबार साँझ प्रधानमन्त्री निवास, बालुवाटार बसेको प्रक्रियामा सम्मिलित १२ दलको बैठकमा भारतीय राजदूतको सक्रियता र उनले दिएका सुझावबारे छलफल भएको थियो।
बैठकमा धेरै कुरा नखुलाई एमाले अध्यक्ष ओलीले भारतीय राजदूतसँग भेट भएको जानकारी गराएका थिए। संविधानसभा अध्यक्ष सुवास नेम्बाङले आइतबार १ बजेको बैठकमा प्रस्ताव समिति बनाउने जानकारी शुक्रबारकै बैठकमा दिएपछि राजदूत रे एमाले अध्यक्ष ओलीसँग भेट्न गएका थिए।
स्रोतका अनुसार ओलीले 'हाम्रो कुरा हामी नै टुंग्याउँछौं, दुई देशबीचको सम्बन्ध कसरी अझ बलियो बनाउने भन्नेबारे छलफल गरौं' भन्दै राजदूत रेलाई आन्तरिक राजनीतिबारे छलफल नगर्न आग्रह गरेका थिए।
ओलीले भेटवार्ताका क्रममा प्रक्रियाका लागि निर्धारित समय सार्न नसकिने स्पष्ट जबाफ पनि दिएका थिए। अन्नपूर्णको जिज्ञासामा एमाले महासचिव ईश्वर पोखरेलले राजदूतको जिज्ञासामा पार्टी अध्यक्षले पार्टीका धारणा र अडान स्पष्ट राखेको प्रतिक्रिया दिए।
उनले भने, 'हाम्रा अध्यक्षले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे सोचौं भन्नुभयो। संविधान निर्माणमा देखिएका समस्या नेपालका दलहरूले नै टुंग्याउन सक्छन् भन्ने पार्टीको धारणा पनि जानकारी दिनुभयो।'
नेपालको आन्तरिक राजनीतिमा बेलाबेला चर्चा र विवादमा आइरहने भारतीय दूतावास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि खुल्ला देखा परेको थिएन। एमाओवादी र मधेस केन्द्रित दलको विपक्षी गठबन्धनले संविधान निर्माण प्रक्रियामा सामेल नहुने अडान राखेपछिमात्र राजदूत रेले शीर्ष नेताहरूलाई भेटेका थिए।
प्रधानमन्त्री सुशील कोइरालासँगको पछिल्लो भेटमा राजदूत रेले संघीयतासहितका केही विषयमा एमाले अध्यक्ष ओलीले राखेका अडानबारे चासो राख्दै उनलाई सम्झाइदिन आग्रह गरेको बालुवाटार स्रोतले बतायो।