शिविरमा रहेका तत्कालिन माओवादी लडाकुको तलबभत्ताका लागि राज्यकोषबाट खर्च भएको चार अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको आजको अन्नपूर्णमा खबर छ।
प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएपछि अख्तियारले अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसनधान बढाएको हो। यसका लागि अख्तियारले लडाकु खर्चसम्बन्धी सम्पूर्ण हिसाबकिताबको विवरण तथा फाइल सम्बन्धित निकायबाट मगाइसेको छ।
तत्कालीन सेना समायोजन विषेश समितिले लडाकु तथा शिविरका लागि राज्यकोशबाट भएको खर्चमा दुरुपयोग भएको निश्कर्ष निकाल्दै छानबिन गर्ने नीतिगत निर्णय गरेको थियो। एमालेनिकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा राज्य कोषबाट करोडौ रकम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी गरेको थियो।