आममाफीको समयावधि सकिनु एक दिनअघि मंगलबार साउदी सरकारले आप्रबासीलाई बीना जरिमाना वैद्यता प्राप्त गर्न वा स्वदेश फर्कन थप चार महिना समय दिएको छ। यसअघि तोकीएको जुलाई ३ सम्मको अवधिमा लाखौं अवैध आप्रवासीको कानुनी प्रक्रिया नटुङि्गपछि साउदी राजा अब्दुल्ला विन अअब्दुल्ला अजिज अलसाउदको आदेश मुताबिक समय थप गरिएको आजको कान्तिपुर र नागरिक दैनिकमा खबर छ।
राजा अब्दुल्लाले परराष्ट्र, आन्तरिक तथा श्रम मन्त्रालयलाई हिजरी अन्त्यसम्ममा अवैध आप्रवासीको समस्या समाधानमा पूर्ण सहयोग गर्न आदेश दिएको त्यहाँको आन्तरिक मनबालयले जनाएको छ।नयाँ हिजरी साल १४३५को सुरूपछि अर्थात नोभेम्बर ४ पछि भने अवैध आप्रवासीलाई कडा कारबाही गर्नसमेत राजाले आदेश दिएका छन्।
आम माफीको समयावधि बढाउन यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी र उद्योग व्यवसायीले समेत माग गर्दै आएका थिए। कूटनीतिक नियोगका पदाधिकारीले केहि दिनअघि श्रममन्त्रीलाई भेटेर आममाफीको समयावधि तीन महिना थप्न कार्यगतिसमेत बढाउन आग्रह गरेका थिए।