बैंकको वित्तीय अवस्था झल्काउने विधि क्यामेल्सका आधारमा गरिएको अध्ययनअनुसार मुलुकका १० वाणिज्य बैंक प्रथम श्रेणीको सूचीमा परेका छन्। उनीहरूले सयमा ६० भन्दा बढी अंक पाएको खरब आजको कान्तिपुरमा खबर छ। केन्द्रीय बैंकले समेतले संस्थाको अवस्था हेर्न तयार गर्ने क्यामल्समा समावेश हुने ६ मध्ये ४ सूचकलाई आधार मान्दा यो अवस्था देखिएको हो। मुलुकमा ३० वाणिज्य बैंक सञ्चालनमा छन्। जसअनुसार ३३ प्रतिशत वाणिज्य बैंकको उत्कृष्टको सूचीमा परेका हुन्। वाणिज्य बैंकहरूले प्रकाशित गरेर वित्तीय विवरणअनुसार पुँजी पर्याप्तता अनुपात, निष्क्रिय कर्जा, रिटर्न अन इक्विटी र तरलतालाई क्यामेल्स विधिअनुसार अंक दिँदा १० वटा बैंक पहिलो श्रेणीमा परेका हुन्।
क्यामेल्स भने ६ वटा सूचकलाई हेरेर तयार गरिन्छ। यसलाई विश्वभरकै केन्द्रीय बैंकका वा नियमनकारी निकायले संस्थाको वित्तीय अवस्था अध्ययनका लागि प्रयोग गर्ने गर्छन्। ६ मध्ये बजार जोखिम र व्यवस्थापनसम्बन्धी अंक भने स्थलगत वाणिज्य बैंकको निरीक्षणपछि मात्र गर्न सकिन्छ। केन्द्रीय बैंकले यी दुई सूचकमा दिएको अंक गोप्य रहने र अन्यले निकाल्न नसक्ने हुँदा ४ सूचकलाई मात्र आधार बनाएर अध्ययन गरिएको हो।
उपलब्ध तथ्यांकअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा उत्कृष्ट ८३ दशमलव ६६ अंक पाएको छ। ४ वटै आधारमा उत्कृष्ट अंक नपाए पनि औसत निकाल्दा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक सबैभन्दा अघि देखिएको छ। 'यो सही मूल्यांकन हो,' स्ट्यान्डर्ड चार्टर्ड बैंकका एक्सटर्नल अफेयर्स प्रमुख दिवाकर पौडेलले भने, 'अन्तर्राष्ट्रिय बैंक भएको नाताले सुशासन, अन्तर्राष्ट्रिय मापदण्ड र साखलाई हामीले उच्च प्राथमिकता दिने गरेका छौं।' सूचकमा देखिएको प्रदर्शनले सेवालाई सबल, सक्षम र प्रभावकारी बनाउन थप प्रोत्साहन पुग्ने उनले बताए।
स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि नेपाल एसबीआई, एभरेस्ट, इन्भेस्टमेन्ट र सानिमा बैंक उत्कृष्ट ५ मा परेका छन्। एसबीआई, एभरेस्ट र इन्भेस्टमेन्ट बैंकले ७० प्रतिशतभन्दा बढी अंक ल्याएका छन्। प्रमुख ५ मध्ये तीन वटा संयुक्त वैदेशिक लगानीमा सञ्चालित बैंक छन्।
६८ दशमलव ०२ अंकसहित एनएमबी बैंक छैटौं स्थानमा छ। लुम्बिनी, बैंक अफ काठमाडौं, नबिल र हिमालयन बैंकले पनि ६० प्रतिशतभन्दा माथि अंक पाएका छन्। १४ वटा बैंकको अंक ५० देखि ६० को बीचमा छ। ४ बैंकको अंक ४० देखि ५० को बीचमा छ। घाटामा गएका किस्ट र ग्रान्डले सबैभन्दा कम अंक पाएका छन्।
क्यामेल्स विधिमा अपनाइने ६ मध्ये ४ सूचकमा तयार पारिएको उत्कृष्ट सूची
स्ट्यान्डर्ड चार्टर्ड
नेपाल एसबीआई
एभरेस्ट बैंक
इन्भेस्टमेन्ट
सानिमा
एनमएबी
लुम्बिनी
बीओके
नबिल
हिमालयन
|