काठमाडौं उपत्यकाका सुरक्षाकर्मी सार्क सुरक्षामा केन्दि्रत हुँदा उपत्यकामा चोरीका घटना बढेका छन् । सार्क सम्मेलन सुरु भएको पहिलो दिनमै उपत्यकाका तीन ठाउँबाट १० लाख बराबरको धनमाल चोरी भएको छ ।
नागरिक दैनिकमा छापिएको खबर अनुसार उपत्यकाका अधिकांश प्रहरी सार्क सम्मेलनमा सहभागी विशिष्ट अतिथिको सुरक्षामा रिङरोड क्षेत्रभित्र केन्दि्रत हुँदा रिङरोड बाहिरको क्षेत्रमा चोरी बढेको हो।
सार्क सम्मेलन सुरु भएको दिन काठमाडौंको काठमाडौं महानगरपालिका-१६ र मनमैजुमा चोरी भएको छ । उता, कीर्तिपुरको मैत्रीनगरबाट तीन लाख ५८ हजारको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ बहतीपोखरीमा श्याम मानन्धरको डेराबाट ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा मूलढोका फोडेर चोरी भएको हो ।
यसैगरी, काठमाडौं मनमैजु-५ मा बस्ने मीरा भट्टको कोठाबाट २५ हजार रुपैयाँ र सुनका गहना गरी करिब दुई लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा पुरुषोत्तम पराजुलीको डेराबाट एकलाख रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब तीन लाख ५८ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
सार्क सुरक्षामा नेपाल प्रहरीका करिब १० हजार जनशक्ति परिचालित भएका थिए । सुरक्षामा खटिन् अधिकांश प्रहरी उपत्यकामा कार्यरत प्रहरी हुन् ।