भुइँमा झिसमिसे उज्याले खस्न नपाउँदै लेलेप-८ ठाङ्गेनका तेन्जिङ शेर्पा चौरी गोठतिर लाग्छन्। मालिक आएको चाल पाएपछि गोठमा भएका चौरी सबै जर्याकजुरुक उठ्छन्। त्यही अवसर पारेर तेन्जिङले पालैपालो चौरी दुहुन्छन्। ३० चौरीमध्ये तेन्जिङका गोठका १६ चौरी दुहुना छन्। चौरी दुहुन तेन्जिङले पूरै बिहान खर्चछन्। र बेलुका चौरीसँगै रमाउँदै घर र्फकछन्। कारोबारमा खबर छ।
तेन्जिङले चौरीसँग रमाउन थालेको ६ वर्ष भयो। ‘जति समय बित्दै जान्छ, उत्तिकै रमाइलो लागिरहेको छ,’ उनले भने, ‘चौरीबाट राम्रो आम्दानी पनि लिइरहेको छु।’
०६५ सालमा तेन्जिङले ताप्लेजुङको याम्फुदिनदेखि ३५ हजारमा १५ वटा चौरी किनेर पाल्न थालेका थिए। आम्दानी राम्रो हुन थालेपछि उनले चौरीको संख्या ३० पुर्याएका छन्।गोठमा चौरीको संख्या बढेसँगै तेन्जिङको दैनिकी चौरी दुहुने, दूधबाट छुर्पी र घिउ बनाउने र चौरी चराउनेमा बितिरहेको छ।
उनी दूधका परिकारको व्यापार गर्छन। ‘घिउ, छुर्पी बेचेर मासिक डेढ लाखजछि कमाउँछु,’ उनले भने, ‘६ महिनासम्म चौरीको दूधबाट राम्रो आम्दानी हुन्छ।’ वर्षमा एकपटक हिउँदको समयमा चौरीहरु व्याउँछन्। चैतदेखि असोजसम्म चौरीको दूधबाट राम्रो आम्दानी हुने तेन्जिङको भनाई छ। ‘६ महिनामा ९ लाख रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भने ‘बाँकी ६ महिना चौरीले दूध दिँदैन।’