एम्बुलेन्समै बिरामीको शल्यक्रिया हुन्छ भन्दा पत्याउन गाह्रो पर्ला । रौतहटको चन्द्रनिगाहपुर अस्पतालले सोमबारदेखि एम्बुलेन्समा शल्यक्रियाको सेवा सुरु गरेको आजको कान्तिपुरमा खबर छ । आकस्मिक उपचारका लागि रिफर गरिएका बिरामीमध्ये केही अपुग सुविधा र स्वास्थ्यकर्मीको अनुपस्थितिमा बाटोमा थप संक्रमण भई एम्बुलेन्सभित्र ज्यान गुमाउने घटना बढेपछि अस्पतालले सेवा सुरु गरेको चिकित्सक सुभाष चौधरीले जानकारी दिए । चन्द्रनिगाहपुरस्थित आकस्मिक शल्यक्रिया तथा उद्धार सेवा संस्थाले एम्बुलेन्समा शल्यक्रिया सेवा प्रदान गरेको हो । उक्त एम्बुलेन्सले सडक दुर्घटना र दैवीप्रकोपमा फसेकाको उद्धार गर्ने काममा समेत प्रयोग हुने जनाएको छ ।
गर्भवती महिलाको उपचारको समय र स्थानलाई ध्यान राख्दै सुविधासम्पन्न एम्बुलेन्सले घरमा गएर शल्यक्रिया गरी सुत्केरी गराउने लक्ष्य राखेको अस्पतालले जनाएको छ । उक्त एम्बुलेन्सका लागि श्रीमती शिलादेवी र शंकरलाल चौधरीले आफ्नो निवृत्तभत्ताको बचतबाट १३ लाख सहयोग गरेको अस्पतालले जनाएको छ । 'शल्यक्रियाका लागि सबै उपकरणयुक्त एम्बुलेन्स हो,' चिकित्सक चौधरीले भने, 'जहाँ सानो शल्यक्रिया -चेस्ट ट्युब) राख्नेदेखि प्रसूति शल्यक्रिया बिरामीको घरमा गएर गर्न सकिन्छ ।'
यसले बिरामीको उपचारको समय र ज्यान बचाउन सकिने चिकित्सकको भनाइ छ । एम्बुलेन्सभित्र गरिएको कुनै पनि शल्यक्रिया निःशुल्क गरिने अस्पताललेे जनाएको छ । चन्द्रनिगाहपुरजस्तो नगरउन्मुख ठाउँमा सुविधासम्पन्न एम्बुलेन्सको आवश्यकता रहेको भन्दै स्थानीयले अस्पतालको प्रशंसा गरेका छन् । स्थानीय देव तिमल्सिनाले एम्बुलेन्समा शल्यक्रियाको सेवा सुरु गरेकामा खुसी व्यक्त गरे । जिल्ला राजमार्गदेखि नजिक भए पनि स्वास्थ्य क्षेत्रमा निकै पछाडि परेको चन्द्रनिगाहपुरमा विगतमा चिकित्सक र भौतिक सुविधाको अभावका कारण धेरै बिरामीहरू वीरगन्ज, काठमाडौं र भरतपुर जाने गर्दथे