अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेको मावलीदेखि ससुरालीसम्मको सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको आजको राजधानीमा खबर छ ।
भ्रष्टाचार अभियोगमा अनुसन्धानको दायरामा रहेका १ सय २० उच्च सरकारी अधिकारीको सम्पत्ति छानविन थालेका अख्तियारले कार्यालयमै बोलाएर सम्पूर्ण आफन्तको आर्थिक विवतरण पेस गर्न निर्देशन दिएको हो।
बैंक लकर रोक्का रहेका ९६ जना र छानबिनको दायरामा ल्याइएका २४ उच्च अधिकारीलाई बोलाएर आयोगले सम्पत्ति विवरणको फेहरिस्त मागेको हो ।
अख्तियारको छानबिनको दायरामा रहेकामध्ये सोमबारसम्म ८० जनाले आयोगका अनुसन्धान अधिकृतसँग प्रारम्भिक बयान अधिकृतसँग प्रारम्भिक बयान दिएका छन् । बयानसँगै आयोगले १३ पृष्ठ लामो सम्पत्ति विवरण फारममार्फत आफन्तको विवरण र आर्थिक हैसियत मागेको हो ।
सम्पत्ति विश्लेषण फाराम नाम दिइएको सो फारममा एकाघरका परिवार सदस्यसहित मावली, ससुराली, साला-साली, साढुभाई-साढुदाइ, भान्जा-भान्जी, दिदी-बहिनीजस्ता नतेदाको सम्पूर्ण आर्थिक विवरण भर्नुपर्ने उल्लेख छ । फारममा जागिर सुरु गरेको अवधि, जागिरका क्रममा बसेको कार्यालय जागिर अवधिलगायतका विवरण पनि मागिएको छ ।