विद्युतीय पद्धतिबाट राष्ट्रिय परिचयपत्र तयार गर्न झन्डै एक अर्ब रुपैयाँको परियोजनाको ठेक्का आफू निकटको एजेन्टलाई दिलाउन गृहमनत्री माधव घिमिरेकै दबाबमा दोस्रोपटक पनि यससम्बन्धी टेन्डर खोल्ने म्याद थप १५ दिन पछि सरेको छ।
एसियाली विकास बैंक(एडीबी)को सहयोगमा एक लाख १० हजार नागरिकको कम्प्युटराइज्ड राष्ट्रिय परिचयपत्र बनाउने परियोजनाको ठेक्का दिन असार १४ गते टेन्डर खोल्ने मिति तोकीएको थियो। तर, अन्तिम दिन फेरी १५ दिन म्याद थपिएको छ। यसअघि पनि टेन्डर खोल्ने अन्तिम क्षणमा गृहमन्त्रीकै दबाबमा १५ दिन म्याद थपिएको आजको अन्नपूर्णपोष्टमा खबर छ।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीका नातेदार जर्मन कम्पनी जीएनडीका स्थानीय एजेन्ट दीपक भट्टराईलाई परियोजना सुम्पने डिजाइनअनुसार यसपटक म्याद थपेर टेन्डर प्रक्रिया लम्बाइएको स्रोतले बतायो।'यसका लागि आफन्त रहेको गृहमन्त्री घिमिरे र अध्यक्ष रेग्मीबी विशेष मिलेमतो छ,' स्रोतले भन्यो। गृहमन्त्री घिमिरेले ठेक्का खोल्ने दिन असार १४ गते 'आयोजना फिर्ता गए जाओस्,चुनाव अगाडि यसमा हात नहालौं भन्दै राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारीलाई म्याद थप गर्न दबाबयुक्त निर्देशन दिएका थिए ।