श्रींलकाका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भ्रमणका लागि लुम्बिनीमा तयारी अन्तिम चरणमा पुगेको छ ।
सार्क शिखर सम्मेलन सूरु हुनुअघि मंसिर ९ गते श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष रसम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउँदैछन्। राजापाक्ष मंसिर ९ गते र मोदी मंसिर १२ गते लुम्बिनी आउने छन्। नागरिक दैनिकमा समाचार छ ।
मोदीलाई ऊर्जा मन्त्री राधा ज्ञवालीले स्वागत गर्नेछिन्। लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङवोले नागरिक अभिनन्दन पत्र पढेर सुनाउने छन्। मोदीको स्वागतका लागि मन्त्री ज्ञवालीको अध्यक्षतामा ३०१ सदस्य नागरिक अभिनन्दन तथा स्वागत मूल समिति गठन गरिएको छ। मोदी विशेष हेलिकप्टरमार्फत लुम्बिनी आउने छन्।
मोदीले मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै लुम्बिनीको ऐतिहासिक पुरातात्विक र धार्मिक महत्वबारे जानकारी लिने र पवित्र शान्ति उद्यानमा बोधगयाबाट ल्याइएको बोधीवृक्ष रोप्ने बताइएको छ।
मोदीले अभिनन्दनपछि छोटो भनाई राखे पनि लुम्बिनीमा सार्वजनिक सम्बोधनको कार्यक्रम भने छैन।
त्यस्तै सार्क सम्मेलनको अघिल्लो दिन मंसिर ९ गते लुम्बिनी आउने श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले स्वागत गर्नेछन्। राजापाक्षको स्वागतका लागि मन्त्री पौडेलको अध्यक्षतामा ३०१ सदस्यीय नागरिक अभिनन्दन तथा स्वागत मूल समिति गठन गरिएको छ।
राजापाक्षले लुम्बिनीमा करिब ४ घन्टा बिताउनेछन्। उनले मायादेवी मन्दिरको दर्शन गरी श्रीलंकन मन्दिरमा पनि पूजा गर्नेछन्। त्यस्तै लुम्बिनी विश्वविद्यालय तथा श्रीलंकन गेस्टहाउसमा जाने कार्यक्रम तय भएको तयारी समितिले जनाएको छ।