जनकपुरमा बिहीबार बिहान ११-१२ बजेदेखि नै सनसनी हल्ला फैलियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भयो भनेर। मोदीको भ्रमणका लागि भारतीय अधिकारी बस्ने होटेल बुकिङ र तिनका लागि तयार गरिएका गाडी बुकिङ भारतीय पक्षबाट रद्द गरिएपछि जनकपुरमा यो समाचार फैलिएको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
समाचारले जनकपुरलाई दुस्खी बनाए पछि त्यहाँबाट नेपाली सरकारी अधिकारीले भ्रमणको तयारीको जिम्मा पाएका पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिलाई बिहीबार अपराह्न २ बजेतिर टेलिफोन गरी समाचारबारे जिज्ञासा राखे। जनकपुर भ्रमणको तयारी लगभग पूरा गरेर मन्त्री निधि काठमाडौं आइसकेका थिए। जनकपुरबाट खबर आउँदासम्म निधिलाई मोदीको भ्रमण रद्द भएको सूचना थिएन।
मोदी भ्रमणको सम्पूर्ण तयारीबारे मन्त्री निधिसँग समन्वय गर्ने जिम्मा पाएका परराष्ट्र मन्त्रालयका भारत डेस्क हेर्ने सहसचिव अमृत राईले टेलिफोन गरी मन्त्री निधिलाई मोदीको जनकपुर भ्रमण रद्द भएको सूचना दिए। राईले लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने कार्यक्रम बुधबार नै रद्द भएको जानकारी पहिल्यै आइसकेको र बिहीबार जनकपुरको भ्रमण पनि रद्द भएको सूचना भारतीय दूतावासबाट आफूले पाएको जानकारी मन्त्री निधिलाई दिए।
मन्त्री निधिले भारतीय राजदूत रन्जित रेलाई टेलफोन सम्पर्क गर्ने प्रयास गरे। तर उनी सफल हुन सकेनन्। त्यसपछि मन्त्री निधिले काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम पीयूष श्रीवास्तवलाई टेलिफोन लगाए। उनीसँग सम्पर्क भयो। श्रीवास्तवले जनकपुर भ्रमण रद्द भएको पुष्टिमात्र गरेनन्, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम पनि रद्द भएको जनाउ दिए। मन्त्री निधिले भ्रमण रद्द नगर्न उनलाई पनि अनुरोध गरे। तर उनले भ्रमण रद्द नै भइसकेको बताए। त्यसपछि मन्त्री निधिले श्रीवास्तवलाई सोधे, म यो सूचना सार्वजनिक गरिदिऊँ तर जबाफमा श्रीवास्तवले भने, हुन्छ, गरिदिनुस्।
उता भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्द भएको अपुष्ट समाचारले जनकपुर तनावग्रस्त बन्यो। गृहमन्त्री वामदेव गौतम र मन्त्री निधिको विरोध र आलोचना भइरहेको थियो। मन्त्री निधिले परराष्ट्र मन्त्रालय र भारतीय दूतावासमा सूचना लिइसक्दा यो सूचना गृहमन्त्री र परराष्ट्र मन्त्रीलगायतलाई पनि जानकारी भएको थाहा पाए। त्यसपछि उनले आफ्नो नामबाट बिहीबार साँझ वक्तव्य निकालेर मोदीको जनकपुर भ्रमण रद्द भएको सूचना सार्वजनिक गरे।