बिरामीदेखि सुत्केरीलाई खाना खुवाउने अधिकांश निजी तथा सरकारी अस्पतालका क्यान्टिन दूषित पाइएको आजको राजधानीमा खबर छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, प्रहरी र उपभोक्ता मञ्च नेपालले आइतबार संयुक्त रुपमा गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।
क्यान्टिन दूषितसँगै व्यवसाय नै दर्ता नगरेको समेत पाइएको छ । यसअघि पटक पटक सुधार गर्न निर्देशन दिए पनि त्यसको पालना नभएको विभागले जनाएको छ । अस्पताल क्यान्टिनमा सरसफाइ नभएको, तरकारी नछोपीकन राखेको र कतिपय खाद्यान्नमा लेबल नै नभएको अनुगमनका क्रममा भेटिएको छ ।
अनुगमनका क्रममा थापाथलीस्थित प्रसूति गृहको लामा फास्ट फुडको भान्छा अति फोहोर पाइएको छ । भान्छाभित्र झिँगा भन्किरहेको र तयारी खाना नछोपी राखेको पाइएको छ।
उपभोक्ता मञ्च नेपालका सचिव रोशन पोखरेलका अनुसार अस्पतालका अधिकांश खाद्यान्न तयार गर्ने टेबुल, डस्टबिन र भाडा सफा गर्ने स्थान एकै ठाउँमा रहेको पाइएको छ ।