विश्वप्रसिद्ध गढीमाई मेला सोमबारदेखि सुरु हुँदैछ। बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा मेलाको तयारी भइरहेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । मेला सुरु हुने मिति सोमबार तोकिएको भए पनि तयारी भने पूर्ण रूपमा सकिएको छैन। मन्दिरमा दुई साताअगाडि देखि नै भक्तजनको भीड बढेको छ।
एक महिनासम्म लाग्ने मेलामा देशभरमात्र नभई छिमेकी देश भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन मन्दिर दर्शनका लागि आउने गरेका छन्। मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ।
पशुबली अन्त्य गरिनुपर्ने भन्दै आवाज उठिरहे पनि समितिले भने बली नरोकिने स्पष्ट पारेको छ। जनआस्थालाई आफूहरूले रोक्न नसक्ने समितिको भनाइ छ। मेलामा १५ हजारभन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिले गरेको छ। मेला अवधिभर बरियापुरमा मदिरा र मासु बिक्री र प्रयोगमा निषेध गरिएको छ।
पसलका लागि खेतमा टहरा बनाउने काम तीव्र पारिएको छ। मन्दिरवरपर क्षेत्रमा थुप्रै पसल सञ्चालन भइसकेका छन्। मन्दिर प्रवेश गर्ने सडक निर्माण पनि तीव्र रूपमा भइरहेको छ।
प्रकाशित मिति: 2014-11-17 06:32:31