तराई मधेसकेन्द्रित राजनीति गरिरहेका मधेसवादी दल मधेसी दलहरूबीचकै मोर्चाबन्दी र धु्रवीकरणमा क्रियाशील भएका छन् । संविधानसभा निर्वाचनको घोषणासँगै मधेसवादी दलका शीर्ष नेता आफ्नो दलीय प्रभाव देखाउन र पार्टीको सांगठनिक धरातल बुझ्न स्थानीय स्तरका राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध तीन दल र मोर्चाबाहिरको मधेसी जनअधिकार फोरम नेपाल मधेसवादी दलहरू समेटेर मोर्चा वा गठबन्धनको नेतृत्व लिने प्रयासमा छन् ।
उच्चस्तरीय राजनीतिक समितिमा समेत प्रतिनिधित्व गर्ने हैसियत भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्रका दुई दल मधेसी जनअधिकार फोरम गणतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल भने मोर्चाबन्दी, धु्रवीकरण वा गठबन्धनको नेतृत्व लिने तयारी वा हैसियतमा छैनन् ।
आगामी निर्वाचनअघि नै ती दुई दलको अस्तित्व र पहिचान संकटमा पर्ने मधेसी दलका नेताहरू स्वयंले स्विकारेको आजको राजधानीमा खबर छ ।
मधेसी समुदायमा समर्पित भएर स्थापना भएको पहिलो मधेसी दल दाबी गर्ने सद्भावना पार्टी यतिबेला मधेसमा भन्दा पहाड र हिमाली जिल्लामा संगठन विस्तारमा लागेको छ ।
मधेस आन्दोलबाट स्थापित भएको दाबी गर्ने उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल भने आगामी संविधानसभाको निर्वाचनपछि आफ्नो दल पहिलो हुने भन्दै मधेसका जिल्लामा पार्टीको कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
आफूलाई मधेसी दलमा लोकतन्त्रवादी दल भएको दाबी गर्ने विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक मधेसमा नयाँ शक्तिको रूपमा स्थापित हुने दाबी गर्छ । मधेसमा सन्त नेता भएको दाबी गर्ने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी भने मधेसी दलहरूबीचको मोर्चाबन्दी, गठबन्धन वा एकीकरणबाटै अघि बढ्ने योजनामा छ । सो दलले विभिन्न चरणमा आफ्ना प्रयासहरू अघि बढाइसकेको छ ।
तीबाहेकका दलहरू विगतको संविधानसभामा प्रतिनिधित्व गरे पनि हाल दलीय अस्तित्व बचाउने चुनौतीको सामना गरिरहेका छन् ।