सरकारी ढुकुटीबाट किनिएका सयौँ गाडी सिंहदरबारमा बेवारिसे छन् । करोडौँमा किनिएका गाडी मर्मत गरेर चलाउने अथवा कवाडीमा बेच्न सरकारले कुनै पहल गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कतिपय गाडी त कुन मन्त्रालय र कुन निकायका हुन् भन्नेसमेत पत्तो छैन । पुरानो संसद् भवनअगाडिका ६ वटा बिग्रिएका गाडीको नम्बरप्लेट, ब्लुबुकलगायतका कागजपत्र छैनन् भने गाडीधनी को हो भन्ने पनि पत्तो छैन । कुनै कागजपत्र र गाडीधनीसमेत नभेटिए पनि ती गाडी पखालेर सफा बनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनुअघि बेवारिसे गाडीलाई हटाउन खोजिएको, तर कसको भन्ने नखुलेपछि सफा गरिएको प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बताए । ‘संसद् भवनअगाडि रहेका गाडी भारतीय प्रधानमन्त्री नेपाल आउने निधो भएपछि हटाउन खोज्यौँ, तर गाडीधनी नभेटिएपछि पानीले पखालेर सफा गरेका थियौँ,’ सचिव सुवेदीले मंगलबार संसद्को अर्थ समितिमा भने, ‘करौडौँ मूल्यका कैयौँ गाडी जलविद्युत्, सिँचाइ र सडकका आयोजनामा अलपत्र छन् ।’
करोडौँ मूल्यमा किनिएका गाडी अलपत्र छाडिएको विषयमा अर्थ समितिले मंगलबार छलफल गरेको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र कुरूप बनेपछि समितिले बेवारिसे र पुराना सरकारी गाडी व्यवस्थापनका विषयमा मुख्यसचिव, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, सहरी विकास र अर्थ मन्त्रालयका सचिवहरूसँग छलफल गरेको हो ।
सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले गाडी चढ्ने सुविधा पाएका पदाधिकारीको अटेरीका कारण सिंहदरबारमा पुराना गाडी अलपत्र परेको बताए । ‘सुविधामा गाडी पाएका व्यक्तिले पुरनो भएपछि सिंहदरबारमा गाडी छाड्दा समस्या आएको छ ।