सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने वैदेशिक रोजगार, मालपोत, यातायात, जिल्ला प्रशासनजस्ता कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न दैनिक १२ घन्टा काम सुचारु राख्ने र नागरिक सहायता कक्ष खोल्ने भएको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ पूर्वसचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूमा दिनको दुई सिफ्ट बिहान ७.३० देखि १.३० सम्म तथा दिउँसो १.३० देखि साँझ ७.३० सम्म जनतालाई छिटोछरितो र भ्रष्टाचाररहित सेवा दिने तयारी गरेको हो ।
यातायात, वैदेशिक रोजगार, कम्पनी रजिस्टारजस्ता कार्यालयमा विचौलियाको चलखेलका कारण आमजनताले सरकारी सेवा लिनसमेत घूस खुवाउनै पर्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले नागरिक सहायता कक्ष खोल्ने भएको छ । आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने सबै कार्यालयहरूलाई विचौलियारहित बनाउन जनताका निवेदनसमेत स्वयं कर्मचारीले तयार पारिदिने गरी नागरिक सहायता कक्ष खोल्न लागिएको हो ।