सर्वोच्च अदालतबाट फैसला कार्यान्वयन विशेष अभियान निर्देशिका जारी भएको दुई दिनभित्रै ६ जिल्लाबाट १५ जना अपराधी समातिएका छन्। यसरी पक्राउ पर्नेमा वर्षौंदेखि अदालतका फैसला कार्यान्वयन नगरी लुकेर बसेका व्यक्ति छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सर्वोच्चको फुलकोर्ट ९पूर्ण बैठक० को निर्णयअनुसार कात्तिक १ गतेबाट निर्देशिका लागू भएको हो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्रनाथ उपाध्यायले निर्देशिका कार्यान्वयनमा आएपछि अदालतका कर्मचारी र सुरक्षाकर्मीसहितको टाक्सफोर्स ले शनिबार र आइतबार ६ जिल्लाबाट कैद र जरिबाना लागेका १५ जना अपराधी पक्राउ गरेको जानकारी दिए।
झापा, मोरङ, सिरहा, सर्लाही, बारा र काठमाडौंमा अपराधी पक्राउ परेका हुन्। सर्लाहीमा चोरी मुद्दामा जेल सजाय तोकिए पनि लुकेर बसेका मलंगवा नगरपालिका ७ का इन्दर महिल्लकसहित दुईजनालाई शनिबार पक्राउ गरी थुनामा पठाइएको छ। घरमै लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। यो मुद्दामा २०६१ सालमै अन्तिम फैसला भएको थियो।