कान्तिपुरविरुद्द दायर अवेहलना मुद्दामाथि लगातार दोस्रो दिन सुनुवाइ गरेपछि सर्वोच्च अदालतले तेस्रो पेशी २७ गतेका लागि तोकेको छ ।
कान्तिपुर दैनिक लेख्छ निवेदकको तर्फको बहस सकिए पनि कान्तिपुर तर्फको बहस बाँकी छ । न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्सेर जबराको संयुक्त इजलास यो मुद्दालाई हेर्दाहेदैको सूचिमा राखेर २७ गतेका लागि तोकेको हो ।
कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा, सहायक बरिष्ठ उपसम्पादक घनश्याम खड्का र पूर्व स्तम्भकार विजयकुमार पाण्डेविरुद्घ दायर मुद्दामा बिहीबारदेखि अन्तिम बहस सुरु भएको थियो ।
इजलासको कार्याविधि नमिलेको भन्दै अध्यक्ष सिरोहिया र सम्पादक शर्माले शुक्रबार अदालतमा निवेदन दिएका छन् । प्रतिवादी मध्येका पाण्डेलाई पेशीको तारेख नै नदिएको अवस्थामा न्यायाधीशद्वयको इजलासले सुनुवाई सुरु गरेकाले कार्याविधिसँग मेल नखाने भन्दै उनीहरुले निवेदन दिएका हुन् । यही प्रक्रियामा प्रश्न उठाउँदै कान्तिपुर तर्फका वकिलहरुले सुरुमा बहसमा सामेल नहुने बताएका थिए ।
निवेदनका तर्फबाट बहस सकिएपछि कान्तिपुरका सम्पादक शर्मा र पूर्वस्तम्भकार पाण्डेले स्वयं आफ्नो कुरा राखेका थिए । त्यसक्रममा सम्पादक शर्माले इजलास फेरि पाऊँ भन्ने माग गरेका थिए । उनको मागलाई न्यायाधीशद्वयले इजलास र्फेन नमिल्ने जवाफ दिएका थिए ।
शर्मा र पाण्डेले आफ्नो कुरा राखेपछि इजलासले सुनुवाइ अन्त्य गर्ने प्रयास गरेको थियो । विपक्षीहरुका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गर्ने वकिलहरुको अधिकार भन्दै कुरा उठाएपछि इजलासले २७ गतेका लागि बहस तोकेको हो । न्यायाधीश र अधिवक्ता थापाबीच सवाल जवाफ भएको थियो ।