धानबालीमा विषादी छर्कदा सावधानी नअपनाएका कारण किसान बिरामी पर्न थालेका छन् । आजको अन्नपूर्ण पोस्ट लेख्छ रोग र कीरा नियन्त्रणका लागि छर्कने विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ ।
बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले धानबालीमा आफूखसी कडा विषादी प्रयोग गरेका कारण किसान धमाधम बिरामी पर्न थालेको जानकारी दिए । विषादीबाट सबैभन्दा बढी चितवनका किसान प्रभावित भएका छन् । निर्देशनालयका अनुसार विषादी छर्कने चितवनका सातजना किसान बिरामी परेका छन् ।
उनका अनुसार विषादीका कारण सबैभन्दा बढी प्रभावित भएका खैरेनी नगरपालिका ५ बस्ने २५ वर्षका दीपक सापकोटाको चितवन मेडिकल कलेजमा सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ । ‘ विषादीकै कारण एक किसानको मृत्यु समेत भएको सूचना आए पनि पुष्टि हुन नसकेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले मृतकका बारेमा खोजी भइरहेको जनाएको छ । विषादीको अवशेष हावाको माध्यमबाट श्वास हुँदै फोक्सोमा पुगेर रगतमा मिसिएका कारण किसानहरु अचेत भएर ढल्ने गरेको चितवन मेडिकल कलेजका चिकित्सक सन्दीप पाण्डेले बताए ।