राजधानीमा एक युवकले आमाले लगेको ऋण नतिरी फरार भएपछि उनको छोराको अपहरण गरेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ,थानकोट बस्ने १९ वर्षीय सुशान्त पोख्रेलले कलंकीबाट ११ कक्षा पढ्ने वीरेन क्षेत्रीको अपहरण गरेका हुन् ।
कलंकीको काष्ठमण्डप कलेज पढ्ने क्षेत्रीलाई पोख्रेल सहित ५ जनाको समुहमा आएका अपहरणकारीले कलंकी चोकबाट जबरजस्ती माईक्रोमा हालेर लगेका थिए । अपहरण भएको एक घण्टा भित्रै अपहरणकारीलाई पक्राउ गरिएको काठमाडौं परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० उत्तमकुमार कार्कीले बताए ।
अपहरितको उद्धार गर्दै त्यसमा संलग्न पोख्रेल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कीर्तिपुरको चाँदनी चोकबाट माईक्रोबस सहित नियन्त्रणमा लिइएको थियो । महानगरीय प्रहरी बृत कालिमाटीका प्रमुख नायब उपरिक्षक यज्ञविनोद पोख्रेलले क्षेत्रीकी आमाले ऋण लगेको पैसा नदिई फरार भएपछि उनको अपहरण गरेर पैसा उठाउने प्रयास गरेको बताए । 'ऋण तिरेन भनेर कसैलाई जबरजस्ती अपहरण गर्न पाइदैनु उनले भने 'कानुनी बाटो अपनाउनुको सट्टा कानुन हातमा लिने प्रयास गर्नु गलत हो ।'
पक्राउ पर्नेमा दोलखाको मालिका गाविसका छिरिङ शेर्पा, मकवानपुर घर भएका अश्विन अधिकारी र ललितपूर लेले घर भएका अमित श्रेष्ठ छन् । प्रहरीका अनुसार यिनीहरुले खत्रीलाई अपहरण गरेर लेले लगेर अमितको घरमा बन्धक बनाएर राख्ने प्रयास गरेका थिए । तर प्रहरीले बाटोमा नै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
थानकोट बस्ने पोख्रेलले एक महिना अघि देखी ४ जना साथीहरुसंग मिलेर अपहरणको योजना बनाएका थिए । उनले पैसा उठेपछि अपहरणमा मदत गर्ने साथीलाई पैसा दिने बताएका थिए । सोमबार बिहान उठेर थानकोट चोकमा आई माईक्रोबस रिजर्भ गरेका थिए ।
उनले यात्रु कुरेर बसेको माईक्रोलाई साढे ६ हजार रुपैंया लेले पुर्याईदिए बापत दिने बताएपछि उनी माईक्रो लिएर कलंकी आएका थिए । कलंकीमा पहिला देखी नै तयार रहेका उनका साथीले खत्री त्यहाँ आईपुग्ने बित्तिकै जबरजस्ती उठाएर माईक्रोमा हालेका थिए ।
उनीहरुले कलंकीबाट अपहरण गरेर स्वयम्भु पुर्याएका थिए । त्यहाँबाट पोख्रेलले आफ्ना दुई सहयोगीलाई गाडीमा राखेर लेले लैजान लगाएका थिए । गाडीमा राख्ने बित्तिकै पोख्रेलले 'तेरी आमा खोई ? भन्दै खत्रीलाई कुटपिट गरेका थिए । उनीसंगै रहेका अरुले आमा नदेखाए लास मात्र फेला पार्ने भन्दै धम्क्याएका थिए ।
प्रहरीका अनुसार माईक्रो चालकलाई अपहरणका लागि माईक्रो प्रयोगमा आउन लागेको कुरा थाहा थिएन । मान्छे राखेपछि उनीहरुले प्रहरी कार्यालय अघि रोके मारिदिने धम्की दिएपछि माईक्रो चालकले उनीहरुले भने अनुसार अघि लगेका थिए ।
कीर्तिपुर चोभारको बाटो हुदै छम्पी झारेर लेले पुर्याउने योजना बनाएका उनीहरुलाई माईक्रो चालकले चोभारबाट छम्पी झर्ने बाटो बिग्रिएकाले माइक्रो नजाने बताएका थिए । अनि सौचालय गर्न जाने भन्दै गाडीबाट ओर्लिएर उनले माईक्रोबसका साहुलाई अपहरणका बारेमा जानकारी गराएका थिए ।
कलंकीबाट युवक अपहरणमा पर्ने बित्तिकै माईक्रोबसको नम्बर पत्ता लगाएको प्रहरीले साहुलाई झिकाएर चालकसंग कुरा गराउने प्रयास गरिरहेको थियो । बाटो बिग्रिएको बताएपछि उनीहरुले संतुगलको जंगलमा छाडेर फर्किन भनेका थिए । त्यताको पनि बाटो बिग्रिएको र उकालो धेरै भएको भन्दै चालकले नमानेपछि घुमेर जाने भन्दै आउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।