कालोपत्रे गरेको डेढ महिना नवित्दै उपत्यकाका सडक धमाधम भत्काउन थालिएको छ । सडक विभागसहितका निकायले निर्माण सकेका सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले खाल्डो खनेर पाइप मर्मत गर्न थालेको छ ।
आजकाे नयाँ पत्रिका दैनिक लेख्छ, लैनचौर, पानीपोखरी, शीतलनिवास, महाराजगन्ज, बाँसबारी हुँदै बुढानीलकण्ठ सडकखण्डको ठाउँठाउँमा भत्काइएको छ । सडक विस्तार योजनाअन्तर्गतका यो खण्डमा सडक विभागले डेढ महिनाअघि मात्रै कालोपत्रे सकेको छ ।
कालोपत्र गर्न मात्रै ६७ करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । कालोपत्रे सडकमा पानी रसाउन थालेपछि सडक विभागकै अनुरोधमा आफूहरुले पानीको पाइप मर्मत गर्न थालेको केयुकेएलले जनाएको छ ।
‘सडकमा एकाएक पानी रसाएको पाइयो,’ केयुकेएलका प्रवक्ता मिलन शाक्यले भने,’सडक विभागले पाइप टुटेको ठाउँमा मर्मत गर्न भन्यो । हामीले भत्काएर मर्मतको काम थालेका हौं ।’ सडक विभागका प्रवक्ता अर्जुनजंग थापाले पनि सडकमा कालोपत्रे गरेपछि मात्र पाइपलाई फुटेर सडकमा रसाएको पाएकाले मर्मत गर्न भनेका हौं ।