सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल जहाजविहीन अवस्थामा रहेका हुन् ।
सुदूरपश्चिमका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए । सुदूरका विमानस्थलमध्ये कैलालीको धनगढी र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।
दार्चुलाको गोकुलेश्वर, सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाई सेवा नियमित हुन सकेकोे छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाएको छ । सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान सुरु गरे पनि हालसम्म उडान हुन सकेका छैनन् । सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम शाखा अध्यक्ष टेकबहादुर चन्दले बताए । रासस