नौ महिना सम्म दुखकष्ट झेल्दै जन्म दिएर सन्तानको मुखै नहेरी आमाले बच्चा छाडेर हिड्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । सत्य पत्याउन कर नै लाग्छ । नेपाल समाचारपत्र दैनिकका अनुसार बच्चालाई जन्म दिएको दोस्रो दिनमा धुलिखेल अस्पतालमा एक आमाले यसरी नै आफ्नो बच्चा छाडेर हिँडेकी छिन् ।
आधुनिक प्रविधिको विकाससँगै भित्रिएको यस्ता विकृतिजन्य घटनाले नेपालका सरकारी र सामुदायिक अस्पतालमा निकै समस्या सिर्जना गर्न थालेको अस्पतालको गुनासो छ । २५ दिनअघि एउटी महिला प्रसव व्यथाले छटपटिदैं धुलिखेल अस्पतालको आकस्मिक कक्षमा आइपुगिन ।
उनको साथमा एक पुरुष पनि थिए । अस्पतालमा महिलाले पहिला ति पुरुषलाई श्रीमान भन्दै चिनाईन । जव अस्पतालमा छोरीको जन्म भयो, तव महिलाले श्रीमान भनेर चिनाएका व्यक्तिलाई जेठाजु भन्न थालिन ।
अस्पतालका कर्मचारीले श्रीमान खोइ त ? भन्ने प्रश्नमा ती महिलाले विदेशमा भएको बताईन ।
उनको यो भनाइप्रति चिकित्सक र कर्मचारीले वास्ता गरेनन् । जव एक दिनपछि उनी बच्चा अस्पतालै छाडेर बेपत्ता भईन अनि अस्पतालमा हल्लाखल्ला मच्चियो ।
श्रीमान विदेश गएको, साथमा एकजना पुरुष लिएर अस्पतालमा आउनु, उसलृ भनेको ठेगाना र मोवाइल नम्बर नमिल्नु, कुनै जानकारी नदिई अस्पतालबाट भाग्नुलाइ अस्पतालले कतै अवैध रुपमा जन्मेको त होइन भन्ने आंशका गरेको छ ।