कांग्रेसमा उपसभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनबाट नेतृत्व लिने रणनीति बनाइरहेका बेला वरिष्ठ नेता शेरबहादुर देउवा भने शान्त छन् । देउवाको सक्रियता पौडेलको जस्तो देखिनेगरी नभएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । तर मौन बसेरै रणनीति सफल बनाउने योजनामा देउवा लागेका छन् ।
देउवाले प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाप्रति असन्तुष्टि र विरोध जनाएका छैनन् । बरु उनले संस्थापनकै शैलीमा समानान्तर पार्टीको स्वरुपलाई अघि बढाएका छन् । ढिलोचाँडो पार्टी नेतृत्व लिने सोचमा रहेका उनले शान्त रणनीतिबाटै पार्टीमा आफ्नो उपस्थिति र दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
प्रमुख सत्ता साझेदार दल एमालेको प्रधानमन्त्री कोइरालाप्रति असन्तुष्टि र विपक्षी दलहरुले सरकारको प्रभावकारिता नभएको आरोप लगाइरहदाँ भने देउवाले सरकारको बचाउ गरेका छैनन् । उनले विगतमा जस्तो पार्टी नेतृत्वको आलोचना समेत गरेका छैनन् ।