भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई दिने नेपाल भ्रमणका क्रममा ६ तहको सुरक्षा दिइने भएको छ।
पहिलो घेरामा भारतबाटै आउने मोदीका ब्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) सँगै नेपाली सेना र नेपाल प्रहरीका पिएसओ खटाइने तयारी गरेको स्रोतलाई उदृत गर्दै आजको नागरिकमा खबर छापिएको छ।
पिएसओको सुरक्षा घेरा बाहिर स्पेशल प्रोटेक्सन ग्रुप र एनएसजी ब्ल्याक कमान्डोको टोली रहनेछ। त्यसपछि तेस्रो तहको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइने छ। विश्वस्त स्रोतका अनुसार नेपाली सेनाको सुरक्षा घेराबाहिर प्रहरी र त्यसभन्दा बाहिर सशस्त्र प्रहरीको घेरा रहनेछ। यी सबै घेरा बाहिर नेपाली सुरक्षा संगठनका गुप्तचरसँगै भारतीय खुफिया एजेन्सीका सदस्यहरूसमेत परिचालित हुनेछन्।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले मोदीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी ख६ने जानकारी दिए। उनका अनुसार तीनै सुरक्षा संगठनले मोदिको व्यक्तिगत, निवास र सवारी आवागमनको बेला कारकेडको सुरक्षा सम्हाल्नेछन्।
नेपालको दुईदिने ओपचारिक भ्रमण सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आइतबार(साउन १८ गते) काठमाडौं आउँदैछन्। विगत १७ वर्षमा भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण गरेको यो पहिलो पटक हो।