बाैद्ध धर्मगुरु श्यामर रिन्पोचे नेपाली नागरिकता बाहक रहेको तथ्य खुलेको छ । प्रधानमन्त्री सुशील कोइरालाको विशेष चासो र निर्देशनमा मन्त्रिपरिषद् बैठकले श्यामरको शव नेपाल ल्याउन दिने निर्णय गर्नेक्रममा उनी नेपाली नागरिकता बाहक रहेको तथ्य खुलेको हो।
कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा एक साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी नागरिकको शव नेपालमा ल्याउन कानुन नभएको भन्दै श्यामरको शव नेपाल ल्याउन नदिने निर्णय गरेको थियो। सोही अनुसार गृह मन्त्रालयले विज्ञप्ती जारी गरी विदेशी नागरिकको शव नेपालमा ल्याउने कानुन नभएको जनाएको थियो। तर, प्रधानमन्त्री सुशील कोइरालाले जसरी पनि ल्याउन दिने नीति लिएपछि भएको छानविनका क्रममा श्यामरले नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ।
तिब्बतमा जन्मिएका श्यामरले नेपालका विभिन्न च्यानल प्रयोग गरी दोर्जे रिन्पोचेको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ फागुन २०३२ मा नेपाली नागरिकता लिएका थिए। उनका लागि जारी गरिएको नागरिकताको नम्बर ४८४७ रहेको छ। उनले भुटानी नागरिकता लिएपछि भने नेपाली नागरिकता त्यागेका थिए । आजकाे राजधानी दैनिकमा समाचार छ।