चपलीस्थित स्नोल्याण्ड रेगन लाइट अफ एजुकेसन स्कुलका प्राचार्य कृष्ण लामासहितका विद्यालय सञ्चालकले कक्षा दसका विद्यार्थीलाई चरम यातना दिएका छन्।
विद्यालय भित्र रेहको प्राचार्य लामाको मोटरसाइकलमा मंगलबार 'चोर' लेखिएको देखेपछि रिसले चुर भएका लामाले कक्षा दसका सबै विद्यार्थीलाई जम्मा पारेर एक हजार पटक उठबस गर्न लगाएका हुन्। आजको अन्नपूर्णमा खबर छापिएको छ। लामाले कक्षा १० का विद्यार्थी श्याम तामङले चोर लेखेको शंकाका आधारमा उनलाई मंगलबार राती साढे ८ बजे छात्राबासबाट निकालिदिएका थिए। झमझम पानी परिरहेको बेला छात्राबासबाट निकालिएपछि डोल्पा स्थायी घर भएका तामाङ सहयोगका लागि बुढानिलकण्ठ प्रहरी वृत्तमा पुगेका थिए।
घटनाबारे थाहा पाएर राती नै विद्यालय पुगेका प्रहरीले प्राचार्य लामा र विद्यार्थी निकाल्न सहयोग गर्ने विद्यालय सञ्चालक समितिका सदस्य युवराज राईलाई नभेटेपछि तामाङलाई छात्राबासमै राखेर प्रहरी फर्किएको थियो।
प्रहरीमा खबर गर्न उक्साएको भन्दै प्राचार्य लामालगायतले बुधबार दिउँसो कक्षा दसका सबै १८ जना विद्यार्थी र होस्टलका वार्डेन मनी महर्जनलगायतलाई कुटपिट गर्दै उठबस गर्न लगाएका हुन्।