भिमापोखरा– ९ की ४५ वर्षीया गौरीमाया विक ड्रमको ताल र शिक्षकको संकेतमा हातखुट्टा र कम्मर मर्काउँदै पिटी खेल्छिन्। उनीजस्तै आमा बनिसकेका स्थानीय महिला अहिले स्थानीय विद्यालयमा दिनहुँ लजाउँदै पिटी खेल्छन्।
भिमापोखरास्थित शिवालय प्राविमा स्थापित महिला विद्यालयमा रातो कुर्तासुरुवालमा लामबद्ध भएर पिटी खेलिसकेपछि उनीहरु आमा कक्षामा छिर्छन् र पढ्न थाल्छन्।आजको नागरिकमा खबर छ ।
निरक्षर महिलालाई लेख्न, पढ्न सिकाउने शिवालय प्राविले चलाएको 'आमा कक्षा'मा १ र २ कक्षा भर्ना भएर २० जना नियमित अध्ययन गरिरहेका छन्, भर्नाक्रम पनि जारी छ।
जमानाअनुसार गाउँका थुपै्र महिलाले मोबाइल किने, तर अक्षर नचिन्दा नम्बर डायल गर्न आउँदैन। धेरै महिला मोबाइल चलाउन जान्ने हुनकै लागि आमा कक्षामा सहभागी छन्। 'फोन गर्न पनि अरूको सहारा लिनुपर्ने भएपछि पढ्न आएकी हुँ,' बिहानै घरको काम सकेर छोरीसँगै पढ्न आएकी कुन्तीले भनिन्, 'यहाँ आएपछि मोबाइल चलाउन सिकेको छु।'
सानो छँदा पढ्न नपाएको पीडाले बुढ्यौलीमा पढ्ने रहर जागेको स्थानीय पवित्रा शर्माले बताइन्। 'अहिलेको जमानामा पढ्न नजान्दा निकै समस्या भयो,' शर्माले भनिन्, 'चेत खुलेर पढ्न आएका हौँ।'
आमा कक्षामा साधारण महिला मात्र होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्षकी श्रीमती सावित्री शर्मा, शिक्षकपत्नी सुमित्रा शर्मा, समितिकै महिला सदस्यलगायत सहभागी छन्।
आमाहरुलाई नेपाली, अंग्रेजी, गणित र ऐच्छिक विषय पढाइएको प्रधानाध्यापक बलबहादुर भण्डारीले बताए। 'विद्यालयले गाउँका महिलालाई साक्षर बनाउन यो अभियान सुरु गरेको हो,' भण्डारीले भने, 'उनीहरुमा शिक्षा लिनुपर्छ भन्ने चेतना जागेको छ।'