त्रिभुवन विश्वविद्यालयले आगामी २३ जेठका लागि घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने निश्चितप्रायः भएको छ । विद्यार्थी संगठनका नेताहरूबीच क्याम्पसमा भर्नाको विषय समधान नभएपछि तत्काल निर्वाचन नहुने अवस्था सिर्जना भएको आजको राजधानीमा खबर छ ।
सोही कारण देखाई उपत्यकाका १५ क्याम्पस प्रमुखले निर्वाचन गर्न नसकिने जनाउ दिएका छन् । ‘निर्वाचनका लागि विद्यार्थी संगठनबाट नै अवरोध भएका कारण निर्धारित समयमा निर्वाचन गर्न सकिँदैन, यसका लागि वातावरण आवश्यक छ,’ क्याम्पस प्रमुखहरूले त्रिवि उपकुलपति डा। हीराबहादुर महर्जनलाई मंगलबार बुझाएको पत्रमा भनेका छन् । स्ववियु निर्वाचनका लागि सोमबारसम्म मतदाता नामावली प्रकाशन गरिसक्नुपर्नेमा तालाबन्दीका कारण अधिकांश क्याम्पसमा सो काम हुन सकेको छैन । उपत्यकाका अधिकांश क्याम्पसमा भर्नाको विषयमा विवाद हुँदा प्रशासनमा तालाबन्दी भएको छ । प्रशासनमा ताला लागेका कारण र क्याम्पसमा निर्वाचन नजिकिँदै गर्दा विवादले उग्र रूप लिएकाले निर्वाचन गर्न नसकिने जानकारी त्रिविलाई दिएको नेपाल ल क्याम्पसका प्रमुख गोविन्द गौतमले जानकारी दिए ।
क्याम्पस प्रमुखले निर्वाचन गर्न नसक्ने बताएका छन् भने विभिन्न विद्यार्थी संगठनले फर्जी विद्यार्थीको नाम खारेजी हुनुपर्ने माग राख्दै ताला लगाएका छन् । एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले मंगलबारदेखि देशभरका क्याम्पसमा ताला लगाएको छ । क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियुको तालाबन्दीका कारण निर्वाचनका लागि असहज वातावरण सिर्जना भएको क्याम्पस प्रमुखहरूले ठहर गरेका हुन् । विगत चार वर्षसम्म हुन नसकेको स्ववियु निर्वाचन यस पटक गर्ने विद्यार्थी संगठनका नेताहरूले सहमति जनाएका थिए । तर, गत २ र ३ जेठमा एकमुष्ठ भएको विद्यार्थी भर्नाको विषयमा विवाद समाधान नभएका कारण निर्वाचन नै अनिश्चित बनेको हो ।
निर्वाचनको वातावरण तयार पार्न मंगलबार नै ११ विद्यार्थी संगठनको बैठक बस्यो । सो बैठकमा हिमाल शर्माले नेतृत्व गरेको अनेरास्ववियु क्रान्तिकारी सहभागी भएन । नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले विद्यार्थी संगठनहरूबीच देखापरेका समस्या उच्चस्तरीय संयन्त्रले समाधान गरेर भए पनि निर्धारित मितिमा निर्वाचन हुनुपर्ने निर्णय भएको बताए । मंगलबारको बैठकले एकमुष्ठ भर्ना रद्द गर्ने, अखिल क्रान्तिकारीले क्याम्पसमा लगाएको ताला खुला गर्न आग्रह गर्ने र २३ जेठमा नै त्रिविको क्यालेन्डरअनुसार निर्वाचन गर्नुपर्ने निर्णय गरेको कर्णले बताए । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पहिले लगाइएका क्याम्पसका ताला खोल्न दबाब दिनका लागि अन्य क्याम्पसका निर्वाचन कार्यालयमा ताला लगाइएको बताए ।
तर, निर्वाचन २३ जेठमा नै गर्न नसकिने अडान क्याम्पस प्रमुखहरूले राखेका छन् ।