फेसबुक आइडी चोरेर पेज बनाएर सार्वजनिक बेइज्यती गरेको दाबी गर्दै प्रहरीसँग उपचार खोज्न पुगेका ‘तीन सुन्दरी’ को झगडा प्रहरी दबाबमा सहमतिमा टुंगिएको छ ।
फेसबुक आइडी चोरेर दुरुपयोग गरेको आरोपी रक्षा थापाविरुद्ध पूर्व मिस नेपाल माल्भिका सुब्बा र मोडल समृद्धि राईले सोमबार महानगरीय प्रहरी अपराध महाशाखामा कारबाही माग गर्दै उजुरी दिए पनि प्रहरी अनुसन्धान र कारबाहीको साटो मिलापत्रमै बढी इच्छुक बनेपछि मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएको आजको नागरिकमा खबर छ ।
राईले आफ्नो फेसबुकको एकाउन्ट ह्याक गरेरे नेपाल ब्युटी क्विन कन्टेस्टको पेज बनाएर रक्षाले मानहानी गरेको दाबी गर्दै मंगलबार महाशाखामा उजुरी दिएकी थिइन् ।
सोही पेजमा आफ्नाबारे जथाभावी सामग्री राखेर चरित्रहत्या गरेको दाबी गर्दै सुब्बाले पनि रक्षामाथि कारबाही माग गर्दै महाशाखामै उजुरी दिएकी थिइन् ।
सुब्बाका अनुसार समृद्धिका नाममा आएको आग्रह स्वीकार गर्दै पेज लाइक गरेपछि पेजमा अश्लील सामग्री लेखिएको थियो । ‘समृद्धिलाई कारबाही गर्न प्रहरीमा उजुरी गर्छु भनेको थिएँ,’ उनले भनिन्, ‘पछि त उनको एकाउन्ट नै ह्याक भएको थाहा भयो ।’
फेसबुक पेजमा यी दुवैबारे मात्रै हैन सहाना बज्राचार्य, निशा अधिकारी, संयुक्ता तिम्सिना, सुमी मोक्तान, सृष्टि श्रेष्ठ, सुगारिका केसी, नग्मा श्रेष्ठ, प्रीति सिटौला, प्रियंका कार्की, जेनिशा मोत्तान, करिश्मा मानन्धर, रेखा थापा, खुस्बू ओली, आस्था पोखरेल र मिस नेपाल इशानी श्रेष्ठलगायतबारे अश्लील सामग्री राखिएको थियो ।