चैत्र ७ २०५८, आजभन्दा ठीक बाह्र वर्षअघि। उर्लिंदो माओवादी विद्रोह दबाउन सेना युद्धमा उत्रेको अवस्था र एकचोटि माओवादीलाई वार्तामा ल्याएर शान्तिका प्रवर्तक मानिएका शेरबहादुर देउवा माओवादीले ‘धोका’ दिएर जंगल पसेपछि शहरका ‘शेर’ नै बनेको अबस्था। देउवा नेतृत्वको संकटकालले सारा मुलुकलाई त्राहिमाम पारेको त्यो समयमा हिंसा निरन्तर उकालो लागिरहेको थियो र त्यो तल लाग्ने कुनै गुन्जायस नै थिएन।
त्यही अन्धकारमय संकटकालको एक साँझ भरतपुरमा हामी बस्ने घर नजिकैको अर्को चोकमा माओवादी ‘शुर’हरुले कोण सभा गर्न पुगेका रहेछन् भन्ने सुचना पछि पाइयो तर तत्क्षणमा भने हामी दुई भाइ साँझको व्यायामपछि गर्मी भएर पसिना हम्किँदै थियौं, दाइ फर्किसक्नुभएको थिएन। शायद लोड शेडिङको समय थियो। त्यत्तिकैमा देउवाका पुलिसहरु अकस्मात् कोठामा प्रकट भए र हामीलाई घिसार्दै लगेर गाडीमा हुले। केही क्षणमै हामी त्यहाँको जिल्ला प्रहरी कार्यालयमा थियौं। पछि वर्षौंसम्म पनि त्यो ठाउँमा पुगेकोमा राहत मान्दै सम्झिन्थ्यौं, कतै दुर्भाग्यवश त्यस दिन प्रहरी कार्यालय नभएर सेनाको ब्यारेक पुर्याइएको भए?
तीनदिने हिरासत बसाइको बेलिबिस्तार लगाएर साध्य छैन, तर त्यसका केही सम्झन योग्य अंशहरु चाहिं म यहाँ राख्छु। यातना दिने तरिकाहरु मध्ये हाम्रो भागमा परेको सबैभन्दा पीडादायी तरिका चाहिं चिर्पट दाउराजस्तै अनुभव हुने (खासमा त्यो के साधन थियो भनेर हेर्न आँखामा बाँधिएको पट्टिका कारण असम्भव थियो) साधनले आसनमा हान्नु थियो। त्यसरी चुटाइ खाँदा खाँदा आसनको छाला नै खुइलिने साथीहरु थुप्रै थिए र उनीहरुका अनुसार त त्यो भन्दा अझ पीडादायी त्यो तरिका हुन्थ्यो जसमा तिघ्रामा बाँस राखेर दुईजना पुलिस बन्धुहरु दुईतिर बसेर बाँस गुडाउँदै मासु पेल्ने गर्थे।
तर हाम्रो भागमा भने खै कसको करुणाले हो त्यो स्तरका प्रक्रियाहरु अपनाइएन। हामीले भोगेको ‘प्रोटोकल’मा चाहिं पहिले भित्तामा हात टेक्न लगाएर आसनमा बेसरी कुटेपछि उत्तानो सुत्न लगाएर पैतालामा अलि सानो र छोटो च्याप्टो किसिमको काठले हानिन्थ्यो। आसनको कुटाइको पीडा यति धेरै हुन्थ्यो कि त्यसको तुलनामा पैतालाको कुटाइ त आराम गरे सरह लाग्थ्यो। त्यसपछिको अर्को चरणमा चाहिं एक खुट्टाले उभिन या उफ्रिन र त्यसपछि उठबस गर्न लगाइन्थ्योः थरथर काम्दै एक खुट्टाले उफ्रिने या उठबस गर्ने यो चरणचाहिं मेरा लागि खास स्मरणयोग्य छ किनकि मेरा करङहरुको उँचोपन देखेर पुलिस बन्धुलाई समेत दया पलाएछ र मलाई चाहिं यस चरणको मुख्य हिस्साभर साला बाहुन, बस् भन्दै बसिरहने छुट दिएका थिए।
उनीहरुको एउटै र अन्तहीन प्रश्न हुन्थ्योः तिमीहरुले कस्को नेतृत्वमा कार्यक्रम गरेको र नेताहरु कहाँ छन्। त्यति उत्तर दिएमा तत्काल छुटाइदिने आश्वासन र उत्तर नदिएमा ज्यूँदै गाडिदिने धम्की संगै आउँथे। तर हामीसित दिनलाई कुनै उत्तर थिएन र चुप लागेर सहन्थ्यौं।
समग्र प्रक्रियाको सबैभन्दा डरलाग्दो क्षणचाहिं त्यो हुन्थ्यो जब राति अबेर भइसकेपछि थुनुवाघरको ढोकाबाट नाम बोलाइन्थ्यो। सबैका आङ सिरिङग हुन्थे र सब कामना गर्थे कि आजको लिस्टबाट कसैगरी आफ्नो नाम छुटेको होस् तर त्यस्ता भाग्यमानी कमै हुन्थे। र एक चरणका मान्छे फर्किसकेपछि मध्यराततिर बोलाइने लिस्टमा परेकाहरु त एक हिसाबले ज्यानको माया मारेर नै जान्थे। कारवाहीस्थलबाट फर्केपछि चाहिं सबैले “लौ आजलाई बाँचियो”को भावमा राहतको सुस्केरा हाल्थे। कुनै दिन त बाहिरबाट धेरै मानिसहरु आइपुगे भने कोठाभरिका सबैजना कोल्टे फर्केर मात्र सुत्न सक्ने अवस्था आउँथ्यो र त्यसले रातको हाजिरीमा बाधा पुर्याउँथ्यो (हाजिरीको खास तरिकामा सबैलाई घोप्टो परेर सुत्न लगाएपछि नाइके चाहिै सबैको पिठ्यूँमा टेकेर गन्दै हिंड्नुपर्थ्यो।)
भोलिपल्ट ती अभागीहरुका आसनका खुइलिएका छालाप्रति सहानुभुति जनाउँदै थुनुवा घरका हवल्दारले ‘मुभ’ मलम ल्याएर दिन्थे। सबैको सन्चो बिसन्चो सोध्ने र धेरै पीर मान्नेलाई सम्झाउने ती हवल्दार धेरैलाई भगवानजस्ता लाग्थे। एकैछिनमा दिउँसोका गतिविधि फेरि शुरु हुन्थे जसमध्ये केही रोमाञ्चक क्षणहरुमा ‘चाकु समुह' भनेर चिनिने लागु पदार्थ मामलामा थुनिएका साथीहरुले चियासँग घुसपैठ गरेर ल्याइएका सुर्ती लगायतका चीजहरु ब्लांकेट ओढेर लुकेर खाने गर्थे।
त्यसबाहेक अर्को उल्लेखनीय प्रसंग के थियो भने पसल पसलबाट नबिकेर फर्कने पाउरोटीहरु कहाँ जाने रहेछन् भन्ने जिज्ञासाको पनि हिरासतमा उत्तर मिल्यो। एउटा हेर्दै फटाहाजस्तो लाग्ने पसलेले कैदीहरुका लागि पातलो चिया र हप्तौं पुरानाजस्ता लाग्ने र एक बाइट टोकेर निल्नासाथ पेट भरिने पुराना र कडा पाउरोटी ल्याइदिन्थ्यो।
दिसा गर्न बिहान एक चोटि चेनगेट खोलेर गन्हाउने शौचालयमा जाने सुविधा थियो भने दिनभर पिसाबचाहिं कोठाभित्रै रहेको ग्यालेनमा गरेर गरिएपछि अर्को दिन बिहान शौचालयमा लगेर खन्याउनुपर्थ्यो। सबै जसो सानातिना काममा चाकु मुद्दाका नाइकेहरुको अह्रनखटन हुन्थ्यो भने रातीको खानापछि मनोरञ्जनका लागि हाकिम पाराका पुलिसहरु आउँथे र कैदीहरुलाई के के खेल्न लगाउँथे जसमध्ये भाते परेड भनिने एउटाको नाम मात्र मलाई अहिले याद छ।
हामी भने ठूला पुलिस भन्नासाथ त्राहिमाम थियौं किनभने हामीलाई पक्रेर ल्याउना साथ अन्योलबीच एकजना साथीले भनेको थियोः मेरो एक जना अंकल पनि हुनुहुन्छ यहाँ जिप्रकामै। उसले त्यति भनेको मात्र के थियो, त्यहाँको नाइके, शायद एसएसपी नै हो, गोली छुटेझैं गर्जेर बोलेको थियोः तेरो अंकललाई मुखमा ....। त्यसपछि सब अवाक् भएका थिए। कुनै सानो पदमा रहेको उसको अंकल अर्को दिन आएर उसलाई जमानतमा छुटाएर लिएर त गयो तर जिल्ला प्रहरी प्रमुखको त्यो सनकले हामी सबैलाई यति तर्सायो कि त्यो क्षणदेखि नै हामीले ज्यानको माया मारेका थियौं।
उसो त हामी भित्रिएको दोस्रो दिन नै प्रहरीलाई स्पष्ट भइसकेको थियो कि हाम्रो ती अर्को चोकमा सभा गर्ने विद्रोहीहरुसँग कुनै साइनो थिएन र हामीसँगै थुनिएका केही साथीहरु कुनै चिनेको प्रहरीको जमानतमा छुटेका पनि थिए। तर कुनै अज्ञात कारणले हामी दुई भाइलाई चाहिं पुरा तीन रात राखेर चौथो दिन मात्र छोडियो। शायद बाग्लुङको हाम्रो विकट गाउँबाट हाम्रो पृष्ठभुमिबारे जानकारी आउन समय लाग्यो क्यारे।
बाहिर निस्कँदा बाहिर त यति उज्यालो थियो कि कति बेरसम्म त आँखा पुरा खोल्नसमेत कष्ट भयो। उज्यालो संसारमा फेरि बानी पर्न कोशिस गर्दा चितवनमा शुरु भइसकेको गर्मी, हटिनसकेको तुवाँलो, अनाहकमा यातना पाइयो भन्ने रोष, भाग्यले बाँचेर आइयो भन्ने सन्तुष्टि आदि तत्वले मनमा अनौठो र जटिल भाव उत्पन्न गरेका थिए। हुन पनि त्यो एक किसिमको पुनर्जीवन नै थियो।
भाग्यवश तिनताक मोबाइल फोनको चलन थिएन र सुचना घरमा बुवा आमासम्म पुग्न केही दिन समय लाग्यो र तबसम्म हामी बाहिर निस्किसकेका थियौं। फलस्वरुप अपुर्व मानसिक पीडाको भयावह सम्भावनाबाट उहाँहरु बाँच्नुभयो। एक अर्थमा त्यतिखेर मानिस पक्रिनु, बेपत्ता पारिनु र मारिनुबीच ज्यादै सानो अन्तर थियो र हारगुहार गरेर पनि कसैले सुन्ने वातावरण नै थिएन।
अचम्मपूर्वक एक महिनापछि आइहालेको मेरो कक्षा १२ को परीक्षाको तयारी अवरुद्ध भएको कुराले भने मलाई त्यतिखेर किञ्चित् चिन्तित बनाएको थिएन। उसो त घुँडा खुम्च्याउन नमिलेर नित्यकर्म गर्ने काम समेत पछि सार्नु परेको बेला पढाइबारे चिन्ता गर्नु त्यति जायज पनि त थिएन। चार दिन आराम गरेर उठेर हिंड्नसम्म मिल्ने भएपछि म पनि पढाइलाई गोली मारेर नेताहरु काम थन्क्याएर आराम गर्न धुलिखेल गए झैं भाइलाई लिएर आराम गर्न बाग्लुङमा रहेको गाउँतिर लागें। एक हप्ता घर बसेर फर्कंदा मैले पढ्न भनेर छुट्याएको आधा समय सिनित्तै भएको मात्र हैन, पहिले याद भएका कति कुराहरु बिर्सिइसकेका थिए।
थप अचम्म के भने कक्षा १२ को नतिजा आउँदा चाहिं म अर्किड कलेज मात्र नभएर चितवन जिल्ला नै टप गर्न पुगेको थिएँ। फलतः तीन दिने जेल बसाइको कुनै पनि दीर्घकालीन खराब असर बाँकी रहेन र केही महिनापछि कसैले जेलयात्राबारे सोधे भने “हो र, म त बिर्सिसकें” भन्ने अवस्था आइसकेको थियो। त्यसैले मलाई अझै पनि दुविधा लाग्छः त्यो हिरासत यात्रा संकटकालीन देउवा सरकारको जनद्वेषी कर्म थियो कि मलाई “जीवन यतिसम्म निर्मम हुन सक्छ” भनेर पाठ पढाउन रचिएको नाटक रु आज १० वर्षपछि फर्केर हेर्दा लाग्छः शायद दुवै उत्तर सही हुन्, आंशिक रुपमा।