दुई दशकअघि छरछिमेकमा एक जना भर्खरै आर्थिक समृद्धिको बाटो समातेका युवाको अचानक हृदयाघातबाट देहावसान भएछ। उनी छिमेकमा असल मान्छे भनेरै चिनिन्थे, सहयोगी थिए। बडा मेहनती पनि। यति चाँडो उनलाई यो लोक छाड्नुपर्ने कुनै कारण थिएन। त्यहाँ पुग्ने जोसुकैले भगवानले अन्याय गरे भन्थे। मानिसहरू सान्त्वना दिन, समवेदना व्यक्त गर्न, श्रद्धान्जली दिन त्यो घरमा आवतजावत गरिरहँदा दिवंगत युवाकी करिब तीन वर्षकी छोरी भने बावा मर्नुभयो, बावा मर्नुभयो भनेर उफ्रिन्थिन्।
धेरै मानिस आफ्नो घरमा आउँदा उनले बेपत्ता खुशी मानेजस्तो लाग्थ्यो। उनलाई आफ्नो बावा सदाका लागि गुमाएकोमा कुनै चिन्ता, पीर थिएन।
शोकमग्न, रुँदारुँदा आँखै सुन्निएका उनकी आमा भने छोरीलाई मायामिश्रित भावमा 'छोरी यस्तो भन्नु हुन्न' भनेर सम्झाउन खोज्थिन्, तर ती बालिकालाई त्यसको केही पर्वाह थिएन। उनी आफ्नै धुनमा उफ्रिन्थिन्। चिनेका मान्छे आइपुग्दा 'अंकल खोइ चकलेट ल्याएको' भन्थिन्। त्यो दिन त्यो हावभाव मलाई पनि कताकता नरमाइलो, असहज जस्तो लागेको थियो। बाल्याकालमै बावु गुमाएर टुहुरी हुन पुगेकी उनलाई कुनै चिन्ता थिएन, बरु चिन्ता त अरूलाई पो थियो।
त्यो दिनको ती बालिकाको व्यवहार मेरो मानसपटलमा धेरै दिन, धेरै वर्षसम्म घुमिरह्यो। अर्थ खोज्दै गएपछि मलाई केही ज्ञान प्राप्त भएजस्तै लाग्यो। त्यो उमेरकी ती बालिकामा मानवत्व स्वभावको लेस पनि थिएन। उनीमा पुरै ईश्वरीय स्वभाव थियो। यो पृथ्वी लोकका सारा लोभ, माया, प्रेम, रिसराग, दुखपीडाबाट उनी मुक्त थिइन्। त्यसैले त्यो घटनाप्रति प्रतिक्रिया जनाउनु पर्ने मानवीय स्वभावको बिल्कुल प्रतिकूल उनले ईश्वरीय प्रतिक्रिया जनाइरहेकी थिइन्। जति रोए पनि जति कराए पनि त्यो घटनाको परिणाम अर्को हुनै सक्दैन। त्यसैले त्यो घटनालाई सहजै लिन सक्नु र विरागबाट मुक्त भएर आफ्नो कर्ममा लीन हुनु ईश्वरीय स्वभाव हो।
प्रत्येक व्यक्ति जन्मँदा बाल्यकालमा ईश्वरीय गुण लिएर नै जन्मन्छ। आफूभित्र भरिएको त्यो ईश्वरीय गुण मान्छेले उमेर बढ्दै जाँदा रित्याउँदै जान्छ। अलिअलि रित्याउने मानिस सामान्य मानवीय गुणसहित आफ्नो जीवन गुजारा गर्छ। पुरै रित्याउने मानिसले आफूमा दानवी गुण विकास गर्छ।
आफुभित्रको ईश्वरलाई धपाएपछि मान्छे आफ्नो प्रतिकूल सानो घटनामा पनि दुखित हुन्छ। दुखको निराकरण उसले परिस्थिति अनुरुप अपराध वा सहारामा खोज्छ। आफू बलियो छ भने आफूलाई दुखित तुल्याउनेलाई कुट्छ, शारीरिक आक्रमण गर्छ। यदि आफू कमजोर छ भने मन्दिर धाउछ, पूजापाठ गर्छ, भगवान गुहार्छ, शत्रु सिध्याइदेऊ भनेर भाकल गर्छ। अर्थात्, आफैँ भित्रबाट धपाइसकेको त्यही ईश्वरको सहारा खोज्छ।
आफ्नो स्वार्थ प्रतिकूल प्रत्येक घटनामा उसले सत्रुको हात रहेको देख्छ। र, त्यो मनको भूत जस्तै रहेको सत्रुविरुद्धको रणनीति तर्जुमा र कार्यान्वयनमै उसको जीवन बित्दछ।
अन्तर्मनबाट ईश्वर धपाएपछि मान्छेले सुख के हो भन्ने महसूस गर्नै छोड्छ। उ आफूलाई सधै दुख मात्रै परेको ठान्छ। त्यो दुखबाट मुक्तिका लागि मन्दिर, धाम सबै चहार्छ। एकाह सप्ताह यज्ञ लगाउँछ। गुरु भेट्छ, प्रवचन सुन्छ। तर पानीले भरिएको गाग्री रित्याएर घोप्ट्याएपछि अरूबाट सापटी लिएको पानि घोप्टो गाग्रोको माथिबाट जति नै खन्याए पनि गाग्रो भरिँदैन। यस्ता व्यक्तिले कस्तो सुख खोजेका हुन् भनेर उनको संगतमा पर्ने सामान्य मानवीय स्वभाव भएको व्यक्तिलाई ठम्याउन प्रलय गार्हो हुन्छ।
सरकारी जागिरको क्रममा भेटिएका एकजना अधिकृत कर्मचारी 'हजूर साग खान पनि पाइएन, अलि राम्रो ठाउँमा सरुवा पाउँ' भनेर आइरहन्थे। राम्रो ठाउँमा सरुवा भएपछि केही समय उनको अनुहार देखिँदैनथ्यो। तर पाँच/छ महिनापछि फेरि उनी उही पुरानै गनगन लिएर आउँथे। डोटीमा पैतृक सम्पति र बडेमानको घर थियो उनको। धनगढी बजारमा अर्को विशाल घर। कैलालीको कुनै गाउँमा बिसौं बिघा जमिन।
उनको अगाडि कोही पर्यो भने भाडावालाले समयमा भाडा तिरेनन्, शौचालयको चुकुल भाँचिदिएछन्, खेती अँधियामा लिएका किसानले धान चोरेर थोरै दिए आदि इत्यादि गुनासो सुन्नुपर्थ्यो। काठमाडौँमा घर बनाउन पाइएन भन्ने उनलाई पिर थियो।
पछि उनले काठमाडौँमा घर पनि बनाए। जागिर छोडेर भएको सम्पत्ति भोग गरेर बसे भने पनि राजसी ठाँटमा बस्न उनलाई पुग्थ्यो। तर उनलाई जागिरको मोह थियो। जहाँ खटिएपनि काज मिलाईमिलाई उनी कहिले डोटी, कहिले धनगढी, कहिले खेती भएको गाउँ पुगिरहन्थे। आफूबाहेक अरू सबै ठग हुन् भन्थे उनी। अति गरेकाले एकचोटि भ्रष्टाचारको अभियोगमा उनको जागिर गयो। उनले मुद्दा लडे। दौडधूप गरे। एकवर्षमै पुनर्बहाली भएर भएर आए। कामै नगरी एक वर्षको पुरै तलबसुबिधा लिए।
त्यसैबीचमा उनले अमेरिकाको डिभी भरेछन्। चिट्ठा परेछ। यो कुरा उनले कार्यालय र तालुक निकायलाई थाहा दिएनन्। त्यसपछि उनी हाकिमका घरघर धाउन थाले। गधाजुनी पार लगाइदिन पर्यो, कहिल्यै अमेरिका देखेको छैन भनेर सबैतिर हारगुहार गरे। सम्बन्धित नै नभए पनि उनले संयुक्त राष्ट्र संघको बैठकमा जाने टोलीमा आफ्नो नाम पारेछन्। सरकारी टिकटमा उनी अमेरिका पुगे। दुइ हप्तापछि संचित घर बिदा र बिरामी बिदा मिलाएर एकैचोटि १८ महिनाको बिदा ठोके। बिदा स्वीकृत भयो। डिभी पक्का गरे। परिवारै अमेरिका लगे। अठार महिना सकिएपछि नेपाल फर्किए, जागिर धाने, बढुवा भए। तीस वर्ष पूरा भएपछि जागिर छोडे। उनी अमेरिका बसाइ सरेको एक दशक भैसकेको छ। त्यहाँ पनि उनलाई पिरले छोडेको छैन। आठ नौ महिनाको अन्तरालमा निवृत्तिभरण बुझ्न काठमाडौँ आउँछन्, अमेरिकामा तीनवटा घर किनेछन्। घर भाडामा लगाउँछन। उनको पिर सकिएको छैन। किनेको घरको भाउ घट्यो भन्ने ठूलो पिर छ उनलाई। छोरी कुइरेसँग पोइल गई भनेर हृदयाघात भएछ। दाँत दुखेर हैरान भए पनि छ महिना अमेरिकामा सहेर बसेछन। ल्वाङ चपाएर, नुनपानीले कुल्ला गरेर धानेछन्। निवृत्तिभरण बुझ्न काठमाडौँ आउँदा दाँतको उपचार गराए। काठमाडौँबाट कोही अमेरिका जाने थाहा पाए भने चिउरा मगाउँछन्। चिउरा मगाउँदा नल्याउनेहरूको लामो सुची उनीसँग छ। सबको सत्तोसराप गर्छन्।
उनको सम्पर्कमा रहेका कसैले पनि उनको दुख वर्णनको श्रृंखला अन्त्य नहुने ठान्छन। उनी काठमाडौँ आएका बेला कतिपय राम्रै चिन्नेले उनि टाढैबाट आउँदै गरेको देखे भने अर्का बाटो समात्छन्। उनको फोन आयो र नम्बर चिनियो भने चिन्नेले उनको फोन उठाउँदैन।
आफुभित्रको ईश्वरलाई पूरै घोक्रेठ्याक लगाएका उनीजस्ताले यो जुनीमा दुखबाहेक केही नपाएको महसुस गरी नै रहन्छन्।
जसले बाल्यकालमै आफूभित्रको ईश्वरलाई चिन्न सक्यो, संरक्षण गरिरह्यो, ऊ यथार्थमा कर्मयोगी बन्छ। ऊ सफलतामा हौसिँदैन, विफलतालाई सहज स्वीकार्छ र त्यसबाट पाठ सिक्छ। गल्ती गर्छ, त्यो महसुस गर्छ र त्यसबाट पाठ सिकेर फेरि त्यस्तै गल्ती दोहोर्याउँदैन। अरूलाई उसले सत्रु ठान्दैन। सबैलाई मित्र देख्छ। अर्काको भलो सोच्दछ। अरूको भलाइमै आफूलाई खुशी पाउँछ। एकदिन यो संसारबाट आफ्नो भूमिका निर्वाह गरेर जानुपर्छ भनेर बुझेको उसले गुमाउनु पर्ने केही छँदै छैन भन्ने स्पष्ट बुझेको हुन्छ। कर्मयोगी हुन्छ तर उ दौडमा सरिक हुदैन, प्राय उ छेउमा बसेर आफ्नो काम गर्दै अरूहरू प्रतिस्पर्धी धावकलाई छिर्के हान्दै दौडेको हेरिरहन्छ।
आफूभित्रको ईश्वरलाई पुरै रित्याइनसकेको मानिसले अध्ययन र असल संगतिले पुन ईश्वरीय गुण प्राप्त गर्न सक्छ। जसले ईश्वरलाई पुरै खन्याएर गाग्री घोप्ट्याइसकेको छ, उसले न आफूलाई खुशी पाउँछ, न समाजलाई खुशी दिन सक्छ।
बालबालिकाले शिक्षा ग्रहण गर्दाको शुरुवाती वर्षमा आफ्नो शिक्षकवर्गबाट असल शिक्षा प्राप्त गरे भने आफूभित्रको ईश्वरलाई बचाईराख्न सक्छन्। उनीहरूमा पुरै चेतना जागृत भैसकेपछि अफ्नो व्यक्तित्वमा रहेको ईश्वरीय गुण निखारिँदै जान्छ र उनीहरू एउटा सभ्य शालीन समाजको विकासमा योगदान दिन सक्छन्। यसैकारण हाम्रो सनातन धर्ममा प्रारम्भिक शिक्षा ग्रहण गर्न गुरुकुल पठाउने चलन थियो। अध्यापनमात्र होइन, गुरुहरूको व्यवहार र आचरणबाट बालबालिकाले आफूभित्रको ईश्वर चिन्ने ईश्वरीय गुणलाई निखार्दै लैजाने अवसर प्राप्त गर्दथे।
ईश्वरीय गुणको ह्रास अहिलेको नेपालको बेथितिको पछाडिको प्रमुख कारण हो र यसो हुनुमा शिक्षाको स्तरहीनता जिम्मेवार छ। अहिलेका शिक्षकले कदाचित स्तरीय अध्यापन नै गरिहाले पनि अधिकांश शिक्षकले आफ्ना शिष्यमा अनुकरणीय ईश्वरीय आचरणको पाठ दिन सक्दैनन् किनभने उनीहरू स्वयम् त्यस्तो आचरण अवलम्बन गर्दैनन्। शिक्षण पेसा आफैंमा अरू पेशाको तुलनामा हेयको दृष्टिकोणले हेरिने सामाजिक संस्कारले गर्दा पनि एउटा कालखण्डमा अन्यत्र कतै जागिर नपाएकाहरूले शिक्षण पेसालाई जीवन गुजाराको माध्यम बनाउन पुगे। उनीहरूमा शिक्षण पेसाको मर्यादा र समाजप्रतिको उत्तरदायित्व बुझ्ने क्षमता थिएन र त्यो विकसित हुन पनि सकेन।
जुन मुलुकमा शिक्षण पेसालाई मर्यादाले हेरिन्छ, पेसामा लागेकोले पनि आफ्नो मर्यादा बुझ्छ, त्यहाँको समाज उन्नतशील छ। मानिसहरू आफ्नो अधिकारको भन्दा कर्तव्यको कुरा गर्छन्। कुनै सामाजिक सामुदायिक समस्या पर्दा अरूसँग समाधानको माग गर्दैनन्, बरु आफूले के दिनु पर्छ भनेर अग्रसर हुन्छन्।
हाम्रो ऐतिहासिक धरोहर कमजोर होइन। हजारौं वर्ष अगाडि सिर्जना गरिएका काठमाडौँ उपत्यकाको चाडपर्वको परम्परा, सांस्कृतिक सम्पदा तथा भौतिक संरचनाको सुक्ष्म विश्लेषण गर्दा स्पष्ट हुन्छ कि त्यस्तो वैभवशाली सभ्यता ईश्वरीय गुण भएका व्यक्तिहरूबाट मात्र विकसित हुन सक्थ्यो। क्रमैसँग हाम्रो पुस्तामा आइपुग्दा त्यो पतन भयो। जुनकुरा पतन हुन्छ, निश्चित रुपमा त्यसको पुनरुत्थान पनि सम्भव छ। कुनै कुरा तल झर्नसक्छ भने निश्चित रुपमा त्यो माथि उठ्न पनि सक्छ।
असल गुरु र असल शिक्षाले मात्र यो सम्भव गराउन सक्छ।
(यो लेख आध्यात्मिक संग्रह 'आश्रम: ज्ञान, विज्ञान र प्रज्ञान'मा प्रकाशित छ।)