महान् यात्राका लागि मानसिक रुपमा तयार हुँदै गरेका सन्त डाक्टरका पछिल्ला अभिव्यक्ति
"अनशन लम्बिदै जाँदा आउन सक्ने असहज परिस्थितिको बारेमा के सोच्नुभएको छ?" भनेर अहिले भर्खर सोधिएको प्रश्नबाट उम्किँदै डा. गोविन्द केसीले भन्नुभयोः त्यसबारे सोचेको त छु तर अहिले भन्दिनँ । आन्दोलनरत पक्षबाट एकपछि अर्को हतियार फालिँदा पनि टसमस नभएका त्रिवि पदाधिकारी र डिन शशि शर्माको रवैया हेरेर अन्तिम यात्राका लागिसमेत मानसिक तयारी गर्दै गरेका डा केसीलाई लागेको छ, 'अझै अन्तिम रहस्य खोल्ने बेला भैसकेको छैन।'
यस्तो माहोलबीच अस्ति क्वार्टरमा रहेको भागवत गीता मगाएर उहाँले सिरानमा राखेपछि नै उहाँ वरपरका मानिसले त्यस्तो मानसिक तयारी भैरहेको आभास पाएका हुन्।
तर, यति हुँदा पनि उहाँको अहिलेको प्रमुख चिन्ताको विषय बनेको छ देशभर स्वास्थ्य सेवामा आएको व्यवधान। अहिले तपाइँको दिमागमा के आइरहेको छ भन्ने प्रश्नको उत्तरमा सरल उत्तर थियोः देशभरका अस्पतालमा उपचार नपाएका बिरामीहरुले छिटो उपचार पाउन् भन्ने मात्र मेरो चिन्ता हो।
अघिल्लो पटकका दुई अनशन छ दिनभन्दा बढी तन्केका थिएनन् तर अहिले दशौं दिनमा आउँदा पहिलेभन्दा कति फरक अनुभव भएको छ त भन्ने प्रश्नमा डा. केसीको उत्तर यस्तो थियोः मासु गल्नेजस्ता समस्या पहिले धेरै आएका थिए तर, पाँचौं दिन कटेपछि शरीरमा एक किसिमको फरक सन्तुलन आउँदोरहेछ । त्यसैले अहिले कमजोरीबाहेक अरु धेरै शारीरिक समस्या छैनन्। तर, मानसिक रुपमा भने अहिले होशमा छु कि बेहोशमा अन्योल भइरहन्छ। सोच्छु यो त अस्पतालै हो कि फेरि सोच्छु हैन कि । यो ढोका अगाडि सिंढी छ कि छैन भन्ने कुरामा मनमा बिवाद चलिरहन्छः सोच्छु, छ कि फेरि लाग्छ, छैन कि। कहिले भुकम्प गएजस्तो लागिरहन्छ।
उसो त केही सोधौं कि भन्ने प्रस्तावको जवाफमै उहाँले भन्नुभयोः अहिले के बोल्छु के बोल्दिन थाहा हुँदैन, त्यसैले नबोलौं होला।
निष्ठाको लडाइँमा जीवनभर लडेका केसी सामू यति गम्भीर परीक्षाको घडी यसअघि कहिल्यै आएको थिएन। दिनभर मानिसहरु आउँजाउ गरिरहन्छन्, कति त थकानै हुने गरी लम्बेतान विज्ञप्ति लेखेर ल्याएर पढेरै सुनाउँछन्। आउनेहरु नमस्कार गरिदिन्छन्, हात हल्लाउँछन्, जवाफ दिनै पर्यो । सबै काम गर्दा क्षीण भैसकेको शक्ति अझ सकिन्छ र कमजोरी बढ्दै जान्छ तर आइसियु जान अझै मन छैन डा केसीलाई।
उसो त भाग्यवश यतिका दिनमा बुढो शरीरमा कुनै आकस्मिक गम्भीरता आइलागेको छैन । त्यस्तो गम्भीरता वा पूरा बेहोशीमध्ये एक नभएसम्म नछोड्ने मानसिकतामा भएजस्तो लाग्छ प्रक्रियासम्मत तरिकाले आएका भनिएका डिन डा शशि शर्मा।
डा शशि शर्मा र त्रिवि पदाधिकारीको यस्तै नियतका कारण कायम अन्योलबीच डा केसीको प्राणपखेरु उडिहाल्यो भने के हुन्छ? अथवा उहाँको बोली वा स्मरण शक्ति वा नशाको प्रवाह अचानक सदाका लागि गुम्यो भने के हुन्छ? उहाँका चेलाहरु निर्मम सत्यलाई मनन गर्दै अनुमान लगाउँछन्ः उहाँको नाममा अस्पताल परिसरमा एउटा नयाँ भवन बन्ला, एउटा शालिक बन्ला र मानिसहरुले पूजा गर्न थाल्लान् तर कुहेको फर्सीजस्तो भइसकेको यो देशको स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा कुनै सकारात्मक परिवर्तन हुने छैन।
यस्तो विषम परिस्थितिमा हतासजस्तै भैसकेका युवा चिकित्सक र विद्यार्थीहरुले डा. शशि शर्माको राजीनामा छिटो आओस् र डा केसीको जीवन बचोस् भनेर जे गर्न पनि तयार छन् । तर, यो प्रकरणको केन्द्रमा रहेका डा. शशी शर्मा भूमिगत जस्तै भएर अस्पतालपरिसरमा मुखै देखाउन छाडेका छन् ।
तस्विर: प्रकाश लामा/सेतोपाटी