मजार-ए-गालिब

yamaha
  • Get News Alerts

united
अनुभूति
tata

पछिल्लो वर्ष दिल्ली जाने अवसर जुर्यो। सन्दर्भ थियो, तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण। जिम्मेवारी थियो, मेरो तत्कालीन कार्यालय एपी-वान टेलिभिजनका लागि फुटेज संकलन, दिल्लीस्थित केही टेलिभिजन स्टेसनको भ्रमण र प्राविधिकहरुसँग भेटघाट। साथमा थिए, सहकर्मी रुपेश श्रेष्ठ, अनिल क्षत्री (थापा) र अमरदिप श्रेष्ठ।

दिल्लीलाई ‘दिलवालों का शहर’ भनिन्छ। यसको कारण मुगल सल्तनतको बेला पोसिएको शेरो शायरी र मुगल बादशाहहरुको स्त्रीप्रेम हुन सक्छ। तर बडा 'मिसलिडिङ' लाग्छ मलाई यो लाइन। कुनै बेला काष्ठमण्डपका कारण काठमाडौंको नामाकरण भएझैं। अहिलेको पुस्तालाई यो कंक्रिट जंगलको नाम एकै रुखको काठबाट बनेको काष्ठमण्डपबाट आएको हो भन्ने मिथक लाग्न सक्छ। त्यस्तै, दिल्लीमा अहिले हिन्दीको खडी बोली बोलिन्छ, उर्दू मिश्रित मिश्रीबोली होइन। कसैसँग कुरा गर्ने प्रयास गर्नुस्, उसको बोली – उसले केही बेचिरहेको छैन भने – रुखो सुनिन्छ।

तस्बिर स्रोत- फस्टपोस्ट डटकम


‘दिलवालों का शहर’ – अर्को मिथक। याद आउँछ, जाँ निसार अख्तरको शेरः

दिल्ली कहाँ गई तिरे कूचों की रौनक़ें,
गलियों से सर झुका के गुज़रने लगा हूँ मैं !

हामी काम गर्ने टेलिभिजन ‘अन एयर’ नभइसकेकाले हामीलाई अन्य पत्रकारजस्तो समाचार पठाइहाल्ने डेडलाइनको दबाब थिएन। सरकारी टोलीले दिने सूचना वा ‘लाइन’ पछ्याउने बाध्यता थिएन। सँगैका साथीहरुले धमाधम ‘ब्रेकिङ न्यूज’ टिपाउन काठमाडौं फोन गरेको देखेर मनमनै मुस्काउने सुविस्ता थियो।

यस्तोमा तीन फिरन्ते र उनीहरुको लोकल गार्डियन म (उमेरका कारण मात्र होइन होला!) दिल्लीको दीदार गर्ने सुविस्ता कहाँ गुमाउँथ्यौं र!

भ्रमणको दोस्रो साँझ नै मैले कविहरुको लोकल गार्डियन हुनुको परिणाम भोगेँ पनि। स्मरण रहोस्, रुपेश र अनिल दुवै कवि हुन् (अमरदिप बोल्दै नबोलेका कारण कविता गरिहाल्ला जस्तो लागेन)। सन्ध्याकालीन पेयका क्रममा अनिलले भनिहाल्यो, “दाइ, गालिबको बारेमा केही बताउनुस् न!”

पेयले तत्काल मलाई बढी नै असर गरेजस्तो भयो।

आफू जन्मिनुभन्दा ११० वर्षअघि नै यो दुनिया छाडिसकेका गालिबका बारेमा मलाई पनि धेरै कहाँ थाहा थियो र। ८० को दशक अन्त्य हुन लागेका बेला दूरदर्शनमा आउने गुलजार निर्देशित टिवी सिरियल 'मिर्जा गालिब' हेरेको पनि हो। तर, सानै उमेरमा हेरेको त्यो सिरियलले लामो ‘फर’ को टोपी लाउने मिर्जा गालिब नसिरुद्दीन शाहजस्तै देखिन्छन् भन्नेबाहेक खासै सिकाएको थिएन।

भारतको दिल्लीस्थित मजार-ए-गालिब (गालिबको समाधिस्थल)। तस्बिर: सोमेश वर्मा 


अनिलको प्रश्नले जोडसँग झकझक्यायो पनि।

मलाई टोलीले लोकल गार्डियन मानेको प्रमुख कारण थियो, म धेरैचोटि दिल्ली पुग्नु। तर, यतिका वर्ष दिल्ली गइरहँदा पनि मैले गालिबको मजार (समाधिस्थल) हेर्ने मौका पाएको थिइनँ। तत्कालै योजना बन्यो, मजार-ए-गालिब जाने। तीर्थाटनका लागि साथमा जोडिए अर्का पत्रकार उमेश श्रेष्ठ।
...

गालिबको जमानामा भारतीय उपमहाद्विपमा फारसीलाई बढी महत्व दिइन्थ्यो। अठारौं शताब्दीतिर उर्दूमा फारसीको धेरै प्रभाव थियो। गालिबले पनि सुरुआतका दिनमा फारसी अति प्रयोग गरे। आफ्नो पछिल्ला दिनमा भने उनले फारसीको क्लिष्टतालाई उर्दूबाट कम गर्नमा धेरै सहयोग गरेका छन्।

थोरै शब्दमा धेरै कुरा भन्न सक्ने क्षमतामा गालिब अतुलनीय नै हुन्। करिब ११ हजार शेर र ८०० पत्र मार्फत् उर्दूलाई घर-घर पुर्याउने गालिबका बारेमा गुलजार भन्छन्, “गालिब फारसीको दबदबा भएका बेला सहज उर्दूमा शायरी गर्थे। उनमा आत्माभिमान अधिक थियो। उनको शायरी र स्वभावमै धर्मनिरपेक्ष भावना थियो।"

उनले आफैंले लेखेका छन्,

'हैं और भी दुनिया में सुखनवर बहुत अच्छे
कहते हैं कि गालिब का अंदाज-ए-बयां और।' 

जीवन संघर्षलाई रोमान्टिक उल्लासको रुप दिन सक्ने गालिबलाई दार्शनिक मान्नेको पनि कमी छैन। मुगल सल्तनतको अवसान र ब्रिटिस साम्राज्यवादको संक्रमण बेला विकसित हुँदै गइरहेको बजारवादको गालिब प्रत्यक्ष द्रष्टा हुन्। र, त्यही लाइनमा लेखिएको मिर्जा गालिबको यो शेर मलाई सबैभन्दा बढी असर गर्छः

'बाजीचा-ए-अत्फाल है दुनिया मेरे आगे
होता है शबो-रोज तमाशा मेरे आगे ।'

अर्थात्, यो सम्पूर्ण संसार नै मेरो लागि बाजीचा-ए-अतफाल (बच्चाहरुको खेल) हो। यहाँ शब-ए-रोज (रात र दिन) खेल तमाशा जारी रहन्छ। यहाँ बन्ने, बिग्रिने र भाँच्चिने खेल भई नै रहन्छन्। अहिले गालिब भएका भए भारतको अवस्था (र, सम्भवतः नेपालको पनि) बारे टिप्पणी गर्दा त्यही शेर लेख्थे होलान्। यही गजलमा गालिब अगाडि भन्छन्:

'इक खेले है औरंगे सुलेमां मेरे नजदीक
इक बात है ऐजाजे-मसीहा मेरे आगे।'

यहाँ औरंगे-सुलेमाँ भनेको बादशाहको सिंहासन हो भने ऐजाजे-मसीहा भनेको यिशुको चमत्कार हो। धर्म, साम्प्रदायिकता र संकीर्णताको सीमाभित्र नरहेर मानवताको नजरले संसार हेर्नेमा नाम चलेका काव्यकारमध्ये सम्भवतः कबीरपछि गालिबकै नाम आउँछ। आफ्नो समयमा गालिबलाई धेरैले काफिर (अल्लाह नमान्ने वा मूर्ति उपासक) भन्ने गर्थे। रक्सीलाई इस्लामले हराम मान्ने र मदिरा सेवनमा गालिबको चाखका कारण धार्मिक समुदायले उनलाई कम मन पराउनु आश्चर्य नै भएन। त्यसमा पनि मिर्जा साहब मस्जिद नजाने खालका।

मदिराप्रेम र मस्जिदप्रतिको बेवास्ताबारे यिनका अनगिन्ती – कतिपय त दन्त्यकथा लाग्ने – कथाहरु प्रचलित छन्। मस्जिद नजाने भए पनि गालिब नास्तिक नै हुन् भन्न गाह्रो छ। कबीरजस्तै यिनी ईश्वरीय सर्वोच्चतामा विश्वास गर्थे जस्तो देखिन्छ। उनको यो शेरले त्यही दर्शाउँछः

'हर चंद हर एक शै में तू है
पर तुझसी तो कोई शै नहीं है।'

कबीरले भनेजस्तैः

'कस्तूरी कुण्डल बसे, मृग ढूंढे वन माँही,
ऐसे घटि घटि राम है, दुनिया देखे नाहीँ।'

तै पनि गालिबलाई नास्तिक मान्नेको कमी छैन। उनीसँग भएका घटनाले त्यतै इशारा गर्छ पनि।

एकचोटि गालिब मस्जिद पुगेछन्। कहिल्यै खुदाको दरबार नपुग्ने काफिर मस्जिद पुगेपछि सबैको भागाभाग हुने नै भो। नमाज पढ्नुअघि उनले वुजू (संकल्पसहितको अर्धस्नान) गरे र नमाज पढ्ने स्थानमा पुगे। त्यहाँ पुग्दा उनको घरेलु सहायकले आएर कानमा केही भन्यो। गालिब मस्जिदबाट फर्कन थाले। मुल्लाहरु – जसका लागि गालिब मस्जिदमा आएर नमाज पढ्नु सफलता मानिने थियो – गालिबलाई भन्न थाले, “वुजू नै गरिसकेपछि त नमाज पढे हुन्छ नि।"

गालिबको जवाफ थियो, “घरमा रक्सी सकिएको थियो, कहीँबाट बन्दोबस्त भैरहेको थिएन। त्यही भएर अल्लाहसँग माग्न आएको। तर, बन्दोबस्त भइसकेको खबर आयो। अल्लाहले माग्नुभन्दा पहिले नै पूरा गरिदिएपछि किन मागी रहनुपर्यो र?”

गालिबका हजुरबुबा उज्बेकिस्तानको समरकन्दबाट भारत आएको मानिन्छ। उनका पिता अब्दुल्ला बेग खाँ अलवरका राजाको फौजमा हुँदा सहिद भएका थिए। पाँच वर्षको उमेरमा बुबा र ९ वर्षको उमेरमा काका (जसले पिताको अवसानपछि यिनको जिम्मा लिएका थिए) गुमाएका मिर्जा असद्दुल्लाह खानको जीवन अभावमै बित्यो। उनको पुर्ख्यौली सम्पत्ति सरकारले कब्जा गरेको थियो। उनको गुजारा तत्कालीन अंग्रेज सरकारले (जसको मातहतमा दिल्ली सल्तनत थियो) दिने पेन्सनमा हुन्थ्यो। कहिलेकाहीँ त उनले पेन्सन लिन कलकत्तासम्म यात्रा गर्नुपर्थ्यो। त्यही कुरा उनले एक शेरमार्फत् वर्णन पनि गरेका छन्:

कलकत्ते का जो ज़िक्र किया तूने हमनशीं,
इक तीर मेरे सीने में मारा के हाये हाये !
(कलकत्ताको नाम आउनासाथ मुटु छिया छिया भएझैं हुन्छ)

सरकारले समयमा चाहिने जति पैसा दिँदैनथ्यो, फलस्वरुप मित्रहरुबाट पाइने उधारो र केही प्रशासकको मद्दतले तानतुन गरेर जीवनयापन हुन्थ्यो। ऋणको बोझले यिनको साथ कहिल्यै छोडेन। यस्तै एकपटक मुश्किलले कहीँबाट गालिबले पैसा जुटाएछन्। बानीअनुरुप नै सबैभन्दा पहिले यिनले बजारबाट रक्सी लिए।

नजिकका एक सेवकले उनलाई सम्झाउने कोशिस गरे, “मिर्जा साहब, घरमा खानेकुरा केही छैन। तैपनि तपाईं रक्सी किन्दै हुनुहुन्छ?”

गालिबको जवाफ थियो, “खुवाउने जिम्मा उसको (अल्लाहको) भन्छन्, तर पिलाउने जिम्मा अरु कसैले लिएको छैन। आफैं जोहो गर्नुपर्छ।”

अभावै अभाव र तनावै तनावका बीच, त्यो पनि अल्लाहको नाम लिएर हाँस्न सक्ने विरलै होलान्। गालिबका सात सन्तानमध्ये कोही पनि बाँचेनन्। तै पनि उनको लेखनमा कमी आएन। त्यही भएर कलमबाट यो पंक्ति निस्केको हुनुपर्छः

मेरी किस्मत में गम अगर इतना था,
दिल भी, या रब्ब, कई दिये होते !

यो शेर उनको जीवनको अन्तिमतिरको हो, जुन बेला गालिबले सम्भवतः हार मानिसकेका थिए। त्यतिबेलाका शेरहरुमा विनोद कम भेटिन्छ। तै पनि विनोदी स्वभाव उनको अन्त्यसम्म रहिरह्यो। हरेक वर्ष गालिब आफ्नो मृत्युको तिथि निकाल्ने गर्थे रे। एकचोटि आफ्नो कुनै शिष्यलाई सुनाएछन् यो कुरा। शिष्यले भन्यो, “इंशाअल्लाह, यो वर्ष पनि तिथि गलत हुन्छ।"

गालिबले झर्केर भने, “यस्तो अलच्छिना कुरा गर्ने? यो तारिख मिलेन भने त टाउको फोडेर मर्छु।"
...

हाम्रो हज़रत निजामुद्दीन औलियाको दरगाहनजिकै रहेको मजार-ए-गालिबको तीर्थाटन पनि गालिबनुमा नै रह्यो।

हामी मजारमा पुग्दा ठाउँ सुनसान थियो। कसैले खासै वास्ता नगरेजस्तो। वरिपरि खेलिरहेका बच्चाहरुलाई गालिबको समाधि कहाँ हो भनेर थाहा पनि थिएन। तैपनि खोजखाज गरेर हामीले समाधिस्थलमा केही समय बितायौं। हामी निस्कन लागेका मात्र थियौं, एक टोली गोरा पर्यटक लिएर एक गाइड आइपुगे। गालिबका बारेमा केही त नयाँ सुन्न पाइएला भनेर एकछिन रोकियौं। गाइडले नयाँ कुरा त के भन्थे, उल्टै गालिबलाई मात्र एक नाम चलेका कवि, र त्यो स्थान उनको जन्मस्थान तथा वासस्थान भनेर गफिए।

मलाई कस्तो कस्तो लाग्यो। गाइडलाई सच्याउन गालिब साहब आफैं आउने अवस्था पनि देखिएन। त्यसैले उनको गफ सकिएपछि विनम्रतापूर्वक छेउमा लगेर गालिबलाई सानो बनाएर पेस गरेकोमा चित्त दुखाई पोख्दै उनको आकार ठूलो भनेर सम्झाउने प्रयत्न गरेँ।

गाइड ‘आइ नो, आइ नो’ भन्दै मबाट पन्छिए। मलाई भन्न त अझै मन थियो, तर नेपाली प्रधानमन्त्री भारतको सद्भावना भ्रमणमा भएको बेला थप बोल्नु उचित लागेन!

कमै मानिस हुन्छन् जसको नाममा शब्द नै बन्छ। गालिब त्यस्तै हुन्। गालिबन एक उर्दू शब्द हो जसको अर्थ हुन्छ, सम्भवतः।

गालिबन, अनिलले त्यो साँझ नभनेको भए न हामी मजार-ए-गालिब जान्थ्यौं न त एक भारतीयलाई गालिबका बारेमा सम्झाउने मौका नै पाउँथ्यौं। कसैलाई केही भनेर सिकाएँ भन्ने भ्रम पाल्नु पनि रमाइलै हो।

हम को मालूम है जन्नत की हक़ीक़त लेकिन,
दिल के बहलाने को ग़ालिब ये ख़याल अच्छा है...

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर) हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

    खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

    विकास आले

  • साथीको नाममा त्यो चिठी साथीको नाममा त्यो चिठी

    लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

    भानु बोखिम

  • सामुदायिक विकासको सपना सामुदायिक विकासको सपना

    हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

    कृष्ण प्र. पौडेल 

साहित्यपाटी

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

  • मिठा बरफ मिठा बरफ

    रगत छाद्ने रोगले उसका बा वितेपछि उनीहरु निकै दुखी र असहाय बने। खानै नपाएर मर्नुपर्ने स्थिति बन्दै गएपछि उनीहरु सुकुम्वासी टोल छोडेर कमला नदि तटको सानो बजारको साहुकहाँ आश्रय लिन पुगेका थिए। साहुले गोरु गोठसँगै छ्वालीले बारेर आमा छोरीलाई बस्ने व्यवस्था गरिदिएका थिए। वस्न खान दिएवापत घरका भाँडाकुँडा सरसफाइ देखि सवै काम गरिदिनुपथ्र्यो। उ रोगी पनि भएकाले धेरै काम गर्न सक्तिनथी। सुखी देवी हरेक दिन आफू सरहकि सिमरनको ब्याग बोकेर नजिकैको स्कुल जाने आउने गर्थी। बुढेसकालको सन्तान भएर हो कि साहुसाहुनी सिमरनलाई असाध्य मायाँ गर्थे। स्कुल धेरै टाढा नभए पनि हरेक दिन सुखी देवीलाई ब्याग बोक्न लगाएर पठाउँथे।

    लक्ष्मण अधिकारी

  • आमाको देश आमाको देश

    कस्तो अचम्म कसैसँग सल्लाहै नगरी फालेको प्रस्तावमा कतै कुनै बिरोध नभइ समर्थन बर्सिए । सायद नेपालको इतिहासमा कुनै बैठकको कुनै प्रस्तावमा यस्तो सहमति आएको थिएन होला । साशनबाट आफैँलाई अलग्याउने आफ्नो प्रस्तावका पक्षमा पुरुषहरुको सभा सहमत भएको देखेर खुशीले फुलेल मन्त्रीका आँखा निरन्तर बगिरहेका थिए । रुमालले पटकपटक आँसु पुछिरहेका उतिरै रहेको सहभागीको ध्यान खिच्दै प्रधानमन्त्री फेरि बोले –बाँकी दलका सभापतिजीहरुको प्रष्ट बिचार पाऊँ ।

    शम्भु सुस्केरा

पाठक विचार

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

  • मजबुत स्थानीय सरकारका लागि सक्षम जनप्रतिनिधि

    जनप्रतिनिधिहरुको अवधि समाप्त भएपछि कर्मचारीको शासन सुरु भयो। कर्मचारीको उद्देश्य र प्रवृत्ति भनेकै जागिर खाने र पैसा कमाउने हो। देशकै कर्मचारीको उच्च पदमा पुगेका व्यक्ति मुख्यसचिव जस्तो पद प्राप्त गरेको व्यक्ति त पद त भै हाल्यो पैसा पनि कमाउनु प¥यो भनेर विदेश हिँड्ने अवस्था छ भने त्यसभन्दा तलका कर्मचारीको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ। यसको मतलब सबै कर्मचारी पैसाकै लागि काम लाग्दछन् भन्ने होइन।

    रमाकान्त शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट